२०८१ फाल्गुन २५ गते

उदयपुर सिमेन्ट उद्योग सञ्चालनको माग

बैंकिङ खबर/ राष्ट्रियसभा सदस्य गोमादेवी तिमिल्सनाले समाजवादउन्मुख देशहरूमा औद्योगिक विकास हुँदै गइरहेको भएपनि नेपालमा दातृ देशहरूले बनाइदिएका उद्योगहरू धमाधम बन्द हुन थालेको बताएकी छन्।

राष्ट्रियसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा छोडेको आरोप लगाइन्। उनले उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरूले पारिश्रमिक पाउन नसकेको बताइन्।

‘समाजवादीउन्मुख देशहरूमा औद्योगिक विकास हुँदै जान्छ। तर हाम्रो देशमा दातृ मुलुकहरूले बनाइदिएका उद्योगहरू धमाधम बन्द हुँदै गइरहेका छन्,’ उनले भनिन्, ‘लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे भएको छ। कामदार र कर्मचारी महिनौंदेखि भोकभोकै मरिरहेका छन्। अध्यक्षमार्फत तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथि खेलवाड गर्न रोकियोस् भनेर आदेश दिनको लागि आग्रह गर्न चाहन्छु।’ उनले तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथिको खेलवाड बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन्।