बैंकिङ खबर/आइएमई ग्रुपको लगानीमा महोत्तरीमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्योगको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै महोत्तरीको गौशाला नगरपालिकाको गौशाला-१ इँटाटार गाउँमा दुई अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ ।
यो उद्योगले दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाइ कार्यका लागि गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापीकिताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो ।
शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालय पाठ्यपुस्तक छपाइ गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रलगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।
बैंक वित्तीय संस्था, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि लगायतका क्षेत्रमा संलग्न हुँदै आएका ढकालले ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ को नाममा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याएका हुन् । यो उद्योगले पुराना कागज पेलेर नयाँ कागज बनाउँछ ।
अध्यक्ष ढकालले नेपाल पल्प एन्ड पेपर इन्डष्ट्री सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र होइन, यसलाई नेपालको औद्योगिक यात्रामै नवजागरणको रुपमा लिएको बताए । ढकालले नयाँ उद्योगको सञ्चालन मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दिगो औद्योगिक विकासप्रतिको प्रतिबद्धताको रुपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को उदाहरण बनेको पनि उल्लेख गरे ।
उद्योगहरु बन्द हुने, लगानीकर्ता पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न युवा जानुपर्ने बाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योग खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सृजना गर्न आइएमई ग्रुपको यस्तै उत्पादनमूलक उद्योगमा भएको प्रवेश महत्वपूर्ण पाइला सावित हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
औद्योगिक विकास रोजगारीको प्रमुख कारक भएको उल्लेख गर्दै उनले नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजले प्रत्यक्ष रूपमा ३०० भन्दा बढी र अप्रत्यक्ष रूपमा हजारौंका लागि रोजगारी सिर्जना गरिसकेको जानकारी गराए । जसमा इन्जिनियर, प्राविधिक, कारखाना श्रमिक, आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरू सम्मिलित छन् ।
उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरूलाई रोजगारीको अवसर दिएको छ ।