March 5th, 2025

ग्रे–लिष्टबाट देशलाई चाँडै निकाल्छौंः अर्थमन्त्री

बैंकिङ खबर/उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई चाँडै नै ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्ने बताएका छन्। बुधबार बसेको संसद बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यसबारे स्पष्टीकरण दिएका हुन्।

उनले भने, ‘अहिले हामी सघन निगरानीमा छौँ, जसलाई हामी ‘ग्रे लिष्ट’ भन्ने गर्छौं, सरकारको कमिटमेन्ट छ, सरकारले निर्धारित समयमा निर्धारित काम सम्पन्न गरेर ‘ग्रे लिष्ट’बाट निकाल्छौँ।’

मन्त्री पौडेलले आफूहरू सरकारमा जानुभन्दा पहिलेकै सरकारले देशलाई ‘ग्रे लिष्ट’मा लगेको बताए। ‘ग्रे लिष्टमा मुलुकलाई लैजानका निम्ति यो सरकारले होइन अरु कसैले, जसका बारेमा सदनसमक्षम म ह्वाइट पेपर लिएर उपस्थित हुने छु, हो ग्रे लिष्टबाट मुलुकलाई कमब्याक गर्नका लागि सरकारले गम्भीर पहलकदमी लिएर आउँछौँ,’ उनले भने।
यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्र सत्तामा थियो। यो गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए।