March 6th, 2025

अबदेखि कम्पनी दर्तादेखि खारेजीसम्म घरबाटै

बैंकिङ खबर/ कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणालीका सबै मोड्यूललाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ। योसँगै कम्पनी संस्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी काम सहज हुने भएको छ।

प्रयोगकर्तासँग सुझावलाई समावेश गरी परिमार्जित रुपमा कार्यान्वयन गरिएकाले कम्पनी प्रशासनको कामकारवाही पूर्ण रूपमा अनलाइन माध्यमबाट सम्पादन गर्न सकिने विश्वास लिइएको छ। यस प्रणालीबाट कम्पनी दर्तादेखि खारेजीसम्म अनलाइनबाट गर्न सकिने छ।

यस प्रणालीबाट कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदन प्रणालीबाट स्वचालित रूपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम स्वीकृति र कम्पनी दर्ताका निवेदन एक तहबाट टुंगो लगाइने व्यवस्था छ।

उक्त प्रणालीले सम्बन्धित शेयरधनी, सञ्चालक वा निवेदक पक्षको सनाखतलगायत भौतिक उपस्थितिबाट जाँच गर्न आवश्यक पर्ने प्रकृतिका आवेदनबाहेक सबै आवेदन अनलाइनबाट गर्न सकिने छ।

साथै, आवेदन पेश भएपश्चात् कम्पनी रजिष्ट्रार कार्यालयमा तोकिएको कर्मचारी र तत्पश्चात् सो विषयमा अनलाइन प्रणालीबाट सम्बन्धित कम्पनीलाई सूचना दिइने तथा साविकमा सञ्चालनमा रहेको प्रणालीका सम्पूर्ण निवेदन तथा कागजात सम्बन्धित कम्पनीले प्रणालीमा नै हेर्न सक्ने व्यवस्था गरिएको छ।

यस प्रणालीमा नागरिकता लगायत व्यक्तिगत विवरणका लागि राष्ट्रिय परिचयपत्र प्रणाली, करदाताको स्थायी लेखा नम्बर लिनेलगायतका कार्यका लागि एकीकृत कर प्रणाली तथा लेखापरीक्षकको विवरणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको प्रणालीसँग आवद्ध गरी कम्पनीले सम्बन्धित विवरण प्राप्त गर्न सक्ने गरी प्रावधान राखिएको छ।