March 3rd, 2025

कार्यसम्पादन मूल्यांकनमा सरकारले कुलमानलाई दियो‘शुन्य’ अंक

बैंकिङ खबर/ सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्य सम्पादनलाई शून्य नम्बर दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उनलाई आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन मूल्यांकन आधारमा शून्य नम्बर दिएको हो ।

घिसिङले बुझाएको कार्यसम्पादन विवरणका आधारमा शून्य नम्बर दिइएको हो । मन्त्रालयकै सहसचिवमा जीवछ मण्डलको संयोजकत्वमा कार्यसम्पादन मूल्यांकन समिति बनेको थियो । उक्त समितिले शून्य नम्बर दिएको हो ।

ऊर्जा सचिव सुरेश आचार्यको निर्देशनमा शून्य नम्बर दिइएको हो । समयमा विवरण नबुझाएको भन्दै उनलाई शून्य नम्बर दिइएको छ । कार्य सम्पादन मूल्यांकन नबुझाएको भन्दै यसअघि घिसिङलाई ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणपछि घिसिङलाई आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन विवरण मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका थिए । प्रबन्ध निर्देशक घिसिङले गत आवमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेश गरेका थिए ।