
बैंकिङ खबर/ चालु आर्थिक वर्षको स्टार्टअप कर्जामा १ हजार ३१४ आवेदकहरू सर्टलिस्टमा परेका छन् । ५ हजार १५८ परियोजनाहरूबाट १ हजार ३१४ वटा ‘सर्टलिस्ट’मा परेका हुन् ।
यस वर्षको स्टार्टअप कर्जा चैत तेस्रो साताभित्र प्रवाह भइसक्ने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले बताए ।
उनका अनुसार १ हजार ३१४ परियोजनाहरू सर्टलिस्टमा परेका छन् । सर्टलिस्टमा परेका परियोजनाहरूको कार्ययोजना प्रस्तुतिपछि पहिलो चरणको कर्जा प्रवाह प्रक्रिया शुरू गरिने उनको भनाइ छ ।
करिब ४ सयदेखि ६ सय परियोजनाहरूलाई यस वर्षको स्टार्टअप कर्जा प्रवाह हुने सम्भावना रहेको प्रतिष्ठानले जनाएको छ ।
गत भदौ ११ गते सार्वजनिक सूचना जारी गर्दै प्रतिष्ठानले आवेदनका लागि आह्वान गरेको थियो । जसमा ३ हजार ३२० वटा अनलाइनमार्फत् र १ हजार ८३८ वटा परियोजनाहरूको भौतिक रूपमा गरी कूल ५ हजार १५८ वटा आवेदन परेका थिए ।
चालु आर्थिक वर्षको बजेटमार्फत् स्टार्टअप कर्जाका लागि १ अर्ब रूपैयाँ विनियोजन गरिएको थियो । गत आर्थिक वर्ष २०८०÷८१ मा स्टार्टअप कर्जाका लागि २५ करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो । गत वर्ष १६५ जनालाई २१ करोड २५ लाखको स्टार्टअप कर्जा प्रवाह गरिएको थियो ।
स्टार्टअप कर्जा प्रवाह गर्नका लागि हरेक वर्ष स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि स्वीकृत गर्नुपर्ने हुन्छ । गत साउन ३० गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षका लागि ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरेको थियो ।



