२०८१ फाल्गुन १ गते

४ अर्बले बढ्यो विदेशी लगानी स्वीकृति

बैंकिङ खबर/ नेपाल भित्रिने लगानीकर्तासँगै वैदेशिक लगानी प्रतिबद्धता समेत बढेको छ। चालू आर्थिक वर्षको साउनदेखि माघसम्म विगतका वर्षको तुलनामा लगानीकर्तासँगै लगानी बढेको हो। उद्योग विभागअन्तर्गत दर्ता हुने उद्योगमा गत वर्षको तुलनामा ४ अर्ब रुपैयाँ बढी प्रतिबद्धता आएको छ।

चालू आर्थिक वर्षमा कुल २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँको प्रतिबद्धता आएको छ। साउनदेखि माघ महिनासम्म अटोमेटिक रुटबाट २ अर्ब ६७ करोड रुपैयाँ प्रतिबद्धता आएको छ। गत वर्ष वैशाखबाट अनलाइनबाटै आवेदन दिएका कम्पनी अटोमेटिक रुपमै स्वीकृत हुने व्यवस्था लागू भएको छ।

उद्योग विभागका अनुसार अटोमेटिक रुटबाट दर्ता हुनेमा सूचना प्रविधिसम्बन्धी कम्पनी धेरै छन्। ५० करोडसम्म पुँजी भएका उद्योग अटोमेटिक रुटबाटै दर्ता हुन सक्छन्। उनीहरुले उद्योग विभाग धाइराख्नु पर्दैन।

कर्मचारीले डकुमेन्ट हेरेर स्वीकृत हुने प्रणालीमा धेरै उद्योग छन्। म्यानुअल रुटबाट २४ अर्ब २१ करोड रुपैयाँ प्रतिबद्धता आएको छ। माघ महिनामा मात्र १ अर्ब ६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

गत आर्थिक वर्षको यही अवधिमा २२ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। आर्थिक वर्ष ०७९/०८० मा १८ अर्ब ६३ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो।

चालू अवधिमा ३२ वटा कम्पनीले सेयर खरिद तथा बिक्रीको अनुमति पाएका छन्। जसबाट १ अर्ब ९४ करोड रुपैयाँ रकम प्रतिबद्धता भएको छ। उद्योग विभागअन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका प्रमुख प्रशान्त बोहराले अघिल्ला वर्षको तुलनामा वैदेशिक लगानी प्रतिबद्धता बढेको बताए।