January 31st, 2025

९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनामा लगानी जुट्यो, कुमारी बैंकले अगुवाई गर्ने

बैंकिङ खबर/ गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एम. ए. पावर प्रा. लि. ले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा २०८१ माघ १८ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

लगानी सम्झौता एम. ए. पावर प्रा. लि.का अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड लगायतका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पुर्व आवश्यक Due Diligence Study  अगाडि बढाएको कम्पनीका अध्यक्षले बताए ।

यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलविद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल विद्युत प्राधिकरण सँग २०८० साल कार्तिक ०१ ग्तै विद्युत खरिद विक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति आरसीओडि २०८६ साल बैशाख २२ रहेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन इआइए स्वीकृतीका लागि सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताए  । आयोजनाबाट उत्पादित  विद्युत गृहदेखि  २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब-स्टेशनमा २२०/१३२ केभीमा जोडिनेछ ।