January 31st, 2025

‘स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानून आवश्यक’

बैंकिङ खबर/ नेपाली कांग्रेसको मुख्यालयमा आयोजित स्टार्टअप तथा एसएमई सम्मेलनमा बोल्ने वक्ताहरूले स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानून आवश्यक भएको सुझाएका छन् ।

सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेका सम्मेलनको दोस्रो दिनको दोस्रो सत्रमा बोल्ने वक्ताहरूले राज्यको विभेदपूर्ण नीति परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

सामूहिक छलफल कार्यक्रममा बोल्दै जेसीआई नेपालकी अध्यक्ष रजनी थापाले समय अनुसार महिलाहरूले आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘महिला उद्यमीले समय अनुसार परिस्थितिलाई सहजरुपमा सामना गर्ने क्षमता विकास गर्दै लैजानुपर्दछ ।’

आफू उद्यमी भइरहँदा कामप्रतिको इमानदारीताका साथै सक्छु भन्ने कमिटमेन्ट पनि हुनुपर्ने अध्यक्ष थापाले बताइन । उनले थपिन्, ‘राज्यको पोलिसी महिलाको नाममा भन्दा पनि पुरुषको नाममा धेरै छ । सम्पत्ति भएको व्यक्तिले सहजै धितो राखेर सम्पत्ति राखेर ऋण लिन सक्छ त्यसका साथै व्यवसाय पनि गर्दछ । त्यसकारण महिलामैत्री कानुन आवश्यक छ ।’

त्यसैगरी विद्यालय शिक्षामा पनि उद्यमी बन्ने पाठ्यक्रम समावेश गर्नुपर्ने उनको राय थियो । अध्यक्ष थापाले महिलालाई उद्यमी बन्न प्रेरित गर्न राज्यले सहजीकरण गर्नुपर्ने समेत बताइन् ।

बीआईडी नेपालका नेपालका प्रमुख यमुना श्रेष्ठले महिला उद्यमशीलताले तुलनात्मक रूपमा फड्को मारेको बताएकी छन् । उनले भनिन्, ‘नेपालमा उद्यम स्थापना गर्न केही अप्ठ्याराहरू भए पनि काम गर्दै जाँदा चुनौती सामना गर्ने क्षमता पनि हुने र मेहनत गरे सफल असम्भव हुँदैन ।’

पछिल्लो समय महिला उद्यमशीलताले सहरदेखि गाउँसम्म नै आर्थिक रूपान्तरणमा योगदान गरिरहेकोसमेत उनले बताएकी छन् । उनले उद्यम गर्नका लागि उद्यम सेन्टरको पनि स्थापना हुनुपर्ने समेत बताइन् ।

उनले थपिन, ‘अहिले महिला उद्यमशीलताले सहरदेखि गाउँसम्म आर्थिक रूपान्तरणको योगदान गरिरहेको छ । अहिले महिला उद्यमीको सहभागिताले आफ्नो आन्तरिक खर्च धान्नका लागि केही न केही गर्दा अरुमा भर पर्नुपर्ने हुँदा सजिलो भएको छ ।’

युजी केक्सकी संस्थापक निकिता आचार्यले आफूले २०१२ मा सानो लगानीमा सुरु गरेको व्यवसायले अहिले ठूलो फड्को मारेको बताइन् । उनले थपिन्, ‘हामीले तालिम दिएका धेरै जना अहिले आत्मनिर्भर भएको र कयौँ सफल उद्यमीको रूपमा समेत परिचित हुनुहुन्छ ।’

उनले समाजमा पुरुषको तुलनामा महिलालाई बढी नै चुनौती रहेको उल्लेख गर्दै आचार्यले भनिन्, ‘महिलालाई उद्यमप्रति उत्प्रेरित बनाउन राज्यले विभिन्न नीति त ल्याएको छ । तर महिलाहरू त्यसमा समावेश भएका छैनन् । महिलालाई उद्यममा सहज प्रवेशको लागि राज्यले आफ्ना कानुन र नीतिमा सुधार र परिवर्तन गर्न आवश्यक छ ।’

त्यसैगरी एनआरएनकी पूर्व अध्यक्ष रविना थापाले अर्थतन्त्र सबल बनाउन महिला उद्यमीको महत्त्वपूर्ण भूमिका रहने बताइन् । उनले भनिन्, ‘मैले नेपालको एक गाउँबाट सुमद्रपारीको सहरमा पुगेर यहाँसम्मको परिचय बनाउन थुप्रै चुनौती र कठिनाइको सामना गर्नुपरेको थियो । हामीले विदेशमा पनि नेपाली महिलाहरूलाई उद्यमशीलताका लागि प्रेरित गरेका थियौँ ।’

उनले नेपालमा सहज रूपमा उद्यम गर्नका लागि राज्यले विश्वास पनि नगर्ने परिस्थिति भए पनि अहिले सहज भएको बताएकी छन् । उनले भनिन्, ‘उद्यम दर्तादेखि धेरै विषयमा झन्झट भएकाले त्यसका लागि सहजीकरण गर्न आवश्यक रहेको छ ।’