January 24th, 2025

टानमा पाँच सदस्य मनोनीत, संस्थाको हितमा काम गर्न अध्यक्ष पाण्डेको आग्रह

बैंकिङ खबर/ ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) मा अध्यक्ष सागर पाण्डेले ५ जना सदस्य मनोनयन गरेका छन् । टानको कार्यसमितिमा ६ जना सदस्य अध्यक्षले मनोनयन गर्ने विधान रहेको छ ।

सोही बमोजिम अध्यक्ष पाण्डेले विभिन्न क्षेत्रसँग सुझबुझ र छलफल गरी ५ जना मनोनयन गरेका हुन् । मनोनयन हुनेमा विष्णु थापा, राजेन्द्र अम्गाई, नकुल देवकोटा, विष्णु बराकोटी र बासु रिमाल रहेका छन् । एकजना महिला मनोनयन गर्न बाँकी छ ।

अध्यक्ष पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई कसरी मजबुत बनाउने, कसरी पर्यटन उद्योगलाई बलियो बनाउने, देशको अर्थतन्त्रलाई पर्यटन क्षेत्रबाट कसरी समृद्ध बनाउने भन्ने विषयमा केन्द्रित रहेको बताएका छन् ।

‘मुलुकमा राजनीतिक नेतृत्वले अर्थतन्त्र र विकासका मुद्धालाई अझै पनि महत्वका साथ सही ढंगले अगाडि बढाउन नसकेको सबैसामु विदितै छ । यो अवस्थामा देशको आर्थिक विकासको एउटा महत्वपूर्ण क्षेत्र पर्यटन नै हो । मलाई लाग्छ यसको विकासका लागि सबैले राजनीतिक एजेण्डा र राजनीतिक सोँचाईलाई अलग गरेर हेर्नुपर्छ । यति भन्दै गर्दा पनि स्वभावैले हामी ट्रेकिङ व्यवसायीहरुमध्ये कतिपय साथीहरु कहीँ न कहीँ राजनीतिक आस्थामा हुनु स्वभाविकै कुरा हो । तर आफ्नो आश्थालाई हामीले व्यबसायीक संस्थामा भित्राउनु उचित हुँदैन’ उनले भने, ‘टानमा हामी जो जो साथीहरु निर्वाचित भएर आयौं चुनावका बेला कोही कता कोही कता थियौं होला । अब निर्वाचित भएर आएपछि सबै साथीहरु टान र यसका सदस्यहरुप्रति धेरै जिम्वेवार हुन आवश्यक छ । हाम्रा एजेण्डा र विषयहरु समग्र पर्यटन विकास तथा ट्रेकिङ क्षेत्रको विस्तार एवं सुदृढीकरण नै हुनुपर्छ ।’

यस्तै उनले टानको विधान सम्मत गरिएको यस कार्यलाई केही साथीहरुले राजनीतिक रुपमा पूर्वाग्रही राखेर मिडियाबाजी गर्नुका साथै विवाद उत्पन्न गर्न खोज्नु पर्यटन व्यवसायीका लागि उचित नभएको बताएका छन् ।

‘पटक–पटक मैले साथीहरुसँग छलफल गर्दा उहाँहरुले नाम दिन नसकेपछि मैले आफ्नो कर्तव्य अनुरुप व्यबसायीक साथीहरुलाई मनोनयन गर्नुपरेको हो’ उनले भने, ‘टानलाई थप शशक्त र बलियो बनाएर देशको पर्यटन क्षेत्रको हितमा लाग्न म सम्पूर्ण टानका जिम्मेवार सदस्यहरुलाई हार्दिक अपील गर्दछु ।’