January 6th, 2025

देश संघीय ढाँचामा त गयो तर वित्त व्यवस्थापन प्रभावकारी भएन : अर्थमन्त्री

बैंकिङ खबर/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक संघीय ढाँचामा गए पनि वित्त व्यवस्थापन अझै प्रभावकारी हुन नसकेको बताएका छन्।

सोमबार सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति उच्चस्तरीय परामर्श गोष्ठीमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले मुलुक संघीयतामा गए पनि अझै कतिपय व्यवस्थाहरु एकात्मक प्रणालीकै रहेको उल्लेख गरे।

उनले संघीयतामा मुलुक रहे पनि वित्तीय व्यवस्थापनका श्रोत परिवर्तन हुन नसकेको दावी गरे। अर्थमन्त्री पौडेलले राजश्व संकलन, आन्तरिक ऋण, अन्तर्राष्ट्रिय सहयोग र अनुदानका स्रोतहरुबाट मात्रै स्रोत व्यवस्थापन भइरहेको उल्लेख गरे।

उनले अहिले यी वित्तीय स्रोतबाट मात्रै वित्त परिचालन गरेर राष्ट्रको विकास र समृद्धिको आकाक्षालाई सम्बोधन गर्नसक्ने अवस्था नभएको बताए। उनले प्रचलित राजश्व संकलन,आन्तरिक ऋण,अन्तर्राष्ट्रिय सहयोग र अनुदानका स्रोतबाट विकास र समृद्धिको आकाक्षालाई पूरा गर्न नसक्ने परिस्थिति रहेको जानकारी दिए।

उनले राजश्व संकलन,आन्तरिक ऋण,अन्तर्राष्ट्रिय सहयोग र अनुदानका स्रोतबाहेक अन्य वैकल्पिक वित्तको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको उल्लेख गरे। उनले सरकारले लिएका नीतिहरु पछिल्लो समय वितरणकारी भएको बताए। उनले संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेकाले समाजवादमा पुग्ने हतारोले वितरणकारी नीतिहरु लिएको देखिएको बताए।