बैंकिङ खबर/ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार बनेपछि अर्थतन्त्र सुधार भएको दाबी गरेका छन् । आइतबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ,‘यस अवधिमा मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको छ’, ओलीको प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको छ ।’
वर्तमान सरकारले अर्थतन्त्रलाई ओहालो….. लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा अगाडि बढाएको पनि प्रधानमन्त्री ओलीले प्रतिवेदनमा लेखेका छन् । ‘पुँजी बजारमा सकारात्मक सुधार हुँदै आएको छ । गत वर्षको यसै अवधिका तुलनामा राजस्वमा वृद्धि भएको छ, निर्यात तथा आयातमा सुधार भएको छ र पुँजीगत खर्चमा वृद्धि भएको छ ।’
पहिलोपल्ट नेपालको सार्वभौम क्रेडिट रेटिङ सम्पन्न भएको र नेपालले दक्षिण एसियामा भारत पछिको दोस्रो स्थान सुरक्षित गरेको भन्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी रूपमा नेपाल लगानीका लागि अनुकूल मुलुक हो भन्ने सन्देश गएको बताएका छन् ।
‘मुलुकको अर्थतन्त्रकमा सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिएको छ । गत वर्षदेखि सिर्जित भुक्तानी दायित्व लगभग पूरा गरिएको छ’, ओलीले भनेका छन्, ‘करिब एक दर्जन, नियमावली, कार्यविधि, निर्देशिका लगायत पारित भई कार्यान्वयनमा आएका छन् । बिना अध्ययन साना आयोजनामा छरिएको बजेटलाई राष्ट्रिय गौरवका रणनीतिक आयोजनामा केन्द्रित गर्न, अनुशासित कार्य प्रणाली कार्यान्वयन गर्न मितव्ययितामा जोड दिइएको छ । गत अर्थतन्त्र चलायमान हुने आधार तयार भएको छ ।’
अर्थतन्त्रको बाह्य अवस्थामा तुलनात्मक रूपमा अनुकूल अवस्थामा रहेको, बैङ्कमा लगानीयोग्य पुँजीको दायरा र विप्रेषण आप्रवाह विस्तार भएको छ । ब्याजदर एकल बिन्दुमा झरेको भन्दै ओलीले मूल्यवृद्धि र मुद्रास्फीति नियन्त्रणको सीमामा तथा विश्व ब्याङ्कले गत वर्ष ३.९ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर यस आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेकाले समग्रमा अर्थतन्त्र चलायमान हुने र आर्थिक क्रियाकलाप विस्तार हुने आधार तयार भएको दाबी गरेका छन् ।