December 30th, 2024

पर्यटनमुखी नीति ल्याउन पर्यटन व्यवसायीहरू एकजुट

बैंकिङ खबर/ पर्यटन क्षेत्रको विकासमा सरकारको नीति केन्द्रित हुनुपर्ने विषयमा पर्यटन व्यवसायीहरूले एकमत अघि सार्ने भएका छन् । पर्यटन नीतिका बारेमा साझा समस्यालाई समाधान गर्ने किसिमको नीति बनाउन पर्यटन व्यवसायीहरू सक्रिय रूपमा लागि परेका हुन् । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल(टान)को सक्रियतामा पर्यटन व्यवसायी संस्थाहरूले पर्यटनमुखी ऐन तथा पर्यटन अभिवृद्धिका लागि गरिनुपर्ने कार्यमा जोड दिएका छन् । नीतिगत ढंगबाट पर्यटनसँग सम्बन्धित समस्याहरूलाई समाधान गर्नको लागि लगातार छलफलहरू भइरहेका छन् ।

छलफलको नेतृत्व गरेका टानका अध्यक्ष सागर पाण्डेले पर्यटन मुखी नीति बनाएर देशको अर्थतन्त्रलाई र समग्र पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिएका छन् । साझा समस्या उठाउँदै पर्यटन विकासका लागि सरकारलाई झकझकाउन सम्पूर्ण पर्यटन व्यवसायीहरू एक ढिक्का भएर अघि बढ्ने उनको भनाइ छ ।

सोही सिलसिलामा पर्यटन ऐनमा सुझाव दिनका लागि आयोजित एक कार्यक्रममा सम्पूर्ण पर्यटन व्यवसायिक संस्थाहरूले पर्यटन मन्त्रालयका सचिव सहसचिव पर्यटन बोर्डका पदाधिकारी तथा नागरिक उड्डयन प्राधिकरण लगायतका पर्यटनसँग सम्बन्धित सरकारी निकायका अधिकारीसँग छलफल गरिएको छ ।

सरकारले ल्याउन लागेको ‘नेपाल राष्ट्रिय पर्यटन नीति २०८१’मा सुझाव दिन छलफल भएको हो । टानका अध्यक्ष पाण्डेले भने,‘छिट्टै हामी सबै सरोकार र सुझावहरू समेटेर दस्तावेजलाई अन्तिम रूप दिनेछौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्री प्रसाद पाण्डे र श्रीमान सचिव गणेश पी. पाण्डेलाई हस्तान्तरण गर्नेछौं ।’