बैंकिङ खबर/ ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल(टान)को नेतृत्व सागर पाण्डेले सम्हालेसँगै आफ्नो कामलाई तिव्रता दिएका छन् । आफ्नो चुनावको समयमा बाँचा गरेका एजेण्डाहरु उनले पूरा गर्नेतर्फ लागि परेका छन् । यसैबीच लामो समयदेखि पर्खिंएको पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्यान्वयनको पक्षलाई अगाडि बढाएका छन् ।
शुक्रबार ट्रेकिङ एजेन्सीहरू, नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार र पर्यटन ट्रेड युनियनले टिम्स सम्बन्धी सहमतिको एमओयूमा हस्ताक्षर गरेका छन् । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल(टान), नेपाल पर्यटन बोर्ड र पर्यटन ट्रेड युनियनले लामो समयदेखि प्रतीक्षित पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)सम्बन्धी पारस्परिक सहमतिको ज्ञापन पत्र(एमओयू)मा हस्ताक्षर गरेका हुन् ।
उक्त एमओयूलाई बोर्डका उपाध्यक्ष कमलप्रसाद सापकोटा, बोर्ड सदस्यहरू ऋषि पी.भण्डारी र राजेन्द्र लामा, बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र वित्त निर्देशकको उपस्थितिमा हस्तान्तरण भएको हो । उक्त एमओयू छिट्टै बोर्ड बैठकबाट स्वीकृत हुने र कार्यान्वयन प्रक्रियामा अगाडि बढ्ने आशा गरिएको छ ।
आगामी १ मार्च २०२५ देखि यो प्रणाली आवश्यक चेकपोस्टहरूसहित पूर्ण रूपमा लागू हुने अपेक्षा गरिएको टानका अध्यक्ष पाण्डेले बताए । अध्यक्ष पाण्डेले भने, ‘सहमतिले नेपालको पर्यटन क्षेत्रमा नयाँ युगको सुरुवात गर्नेछ, जसले ट्रेकिङ व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनेछ ।’ टिम्स प्रणालीको प्रभावकारी कार्यान्वयनले पर्यटकहरूको सुरक्षा, डेटा व्यवस्थापन र पर्यटन क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा राखिएको छ ।