December 24th, 2024

‘टिम्स संशोधन एमओयू २०२४’ मा हस्ताक्षर

बैंकिङ खबर/  ट्रेकर्स सूचना व्यवस्थापन प्रणाली (टिआइएमएस) टिम्सको संशोधन एमओयू २०२४ मा हस्ताक्षर भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्यटन बोर्ड(एनटीबी) र मजदुर युनियनले काठमाडौंमा आयोजित एक समारोहकाबीच संयुक्त रूपमा एमओयू २०२४ मा हस्ताक्षर गरेका हुन् ।

टानका अध्यक्ष सागर पाण्डेले अब बोर्डबाट अन्तिम स्वीकृति लिन अगाडि बढिरहेको बताए । यसलाई बिहीबार बोर्डका सीईओलाई हस्तान्तरण गर्ने पनि बताए । उनले यसलाई जनवरी २०२५ मा यसको कार्यान्वयन घोषणा गर्ने योजना बनाएको पनि बताए ।

अध्यक्ष पाण्डेले भने, ‘यसलाई अगाडि बढाउन अथक प्रयास गर्ने सबैलाई धेरै–धेरै धन्यवाद । यसले दिगो पर्वतीय पर्यटनलाई सुदृढ गर्न र ट्रेकिङ कम्पनीहरूको दायित्व सुनिश्चित गर्न मद्दत गर्ने मैले आशा लिएको छु ।’ पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल पर्यटन बोर्डद्वारा जारी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)सम्बन्धी मापदण्ड, २०७९ लागू गरेको थियो ।

तर उक्त मापदण्ड हाल कार्यान्वयनमा आइसकेको छैन । बोर्डले टान र पर्यटन क्षेत्रमा आबद्ध मजदुरको संयुक्त संगठनका पहलमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई ‘टिम्स कार्ड ’ र पथप्रदर्शक (गाइड)बिना पदयात्रामा जान नपाउने नियम लागू गरेको थियो । पछिल्लो समय उक्त नियम कार्यान्वयनमा नआएको बताइएको छ । बोर्डले उक्त मापदण्ड तयार गरेर कार्यान्वयनमा ल्याएको भनिरहँदा पनि थुप्रै पर्यटक गाइडबिना पदयात्रामा निस्किँदा हराउने तथा ज्यान गुमाउने गरेको पाइएको छ ।