December 22nd, 2024

स्टार्टअप कर्जाका लागि ५ हजार बढी आवेदन

बैंकिङ खबर/ स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार बढी परियोजनाले आवेदन पेश गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजनाले आवेदन दिएका हुन् ।

२०८१ साल भदौ ११ गते स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न प्रस्ताव आह्वान गरिएकोमा अनलाइन र अफलाइन गरि ५ हजार १५८ वटा प्रस्ताव परेका हुन् । अब यी प्रस्ताव मध्येबाट कर्जाका लागि छनोट हुने परियोजनाले राष्ट्रिय वाणिज्य बैंकबाट अधिकतम २५ लाख रूपैयाँसम्म बिना धितो ३ प्रतिशत ब्याजमा ५ वर्षका लागि स्टार्टअप उद्यम कर्जा प्राप्त गर्नेछन् ।

सरकारले चालु आर्थिक वर्षमा स्टार्टअप उद्यम कर्जा प्रदान गर्न एक अर्ब रकम बजेट विनियोजन गरेको छ । यो रकम राष्ट्रिय वाणिज्य बैकमार्फत परिचालन हुने गरि सम्झौता भएको छ । अब मापदण्ड पूरा गरेका परियोजनाहरूलाई औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रारम्भिक सूची तयार गरी व्यावसायिक योजना प्रस्तुतीकरणका लागि बोलाउनेछ ।