बैंकिङ खबर/ नेपालस्थित जापानी दूतावासका डेपुटी चिप अफ मिसन तामुरा ताकाहिरोसहितका टोलीले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेसँग भेटवार्ता गरेको छ ।
मंगलबार टानको कार्यालय काठमाडौंमा भएको भेटमा नेपालमा पदयात्राका क्रममा जापानी ट्रेकर्स र पर्वतारोहीहरूको सुरक्षाका विषयमा छलफल भएको थियो ।
भेटमा टोलीले टानको प्रस्तावको लागि आफ्नो समर्थन जनाएको छ । जसमा सबै पदयात्रीहरूले दर्ता भएको ट्रेकिङ कम्पनीसँग पदयात्रा गर्ने र यस स्वीकृतिले पदयात्रीहरूका लागि सुरक्षा र राम्रो समग्र अनुभव सुनिश्चित गर्ने महत्वलाई जोड दिएको छ ।
यस्तै टिआइएमएसको प्रभावकारी कार्यान्वयनका विषयमा समेत छलफल भएको थियो । टानका अध्यक्ष पाण्डेले ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम( टिआइएमएस)को प्रभावकारी कार्यान्वयनको बारेमा नेपालस्थित प्रत्येक दूतावासलाई चेतना जगाउने र जानकारी गराउन आवश्यकता रहेकोमा जोड दिएका थिए ।
यो पहल सुरक्षा मापदण्डहरू कायम राख्न र ट्रेकर्सहरूलाई उनीहरूको साहसिक कार्यको समयमा निगरानी गर्न महत्वपूर्ण हुने अपेक्षा राखिएको छ । यी पहलहरूलाई बढावा दिन र सबैका लागि सुरक्षित ट्रेकिङ वातावरण सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरू र दूतावासहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता समेत भएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
पाण्डेले भने‘हामी जापानी राजदूत र उहाँको टोलीसँग आभारी छौं । आगामी दिनमा सहकार्य र सहयोगको आशा गरेका छौं ।’