December 14th, 2024

कर्जा लिँदा यी कुरामा ध्यान दिऊ

आम्दानीभन्दा खर्च बढी गर्नुपर्ने तर पहिलेदेखिको बचत नभएको अवस्थामा खर्च गर्न पैसाको अभाव हुन्छ । चाहेको काम सम्पन्न गर्न कसैसँंग रकम लिनुपर्ने हुन्छ । केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने अरूसँग लिएको रकमलाई ऋण भनिन्छ । ऋणलाई कर्जा पनि भनिन्छ ।

बैंक ऋणको परिचय



कुनै पनि उद्यम वा व्यवसाय गर्न वित्तीय स्रोतको व्यवस्था गर्नुपर्ने हुन्छ । गाई–भैंसी पाल्न, रिक्सा किन्न, सानो वा ठूलो व्यापार गर्न, घरेलु उद्योग तथा अन्य उद्योगधन्दा स्थापना गर्ने लगायतका कुनै पनि आय आर्जन हुने काम गर्न सर्वप्रथम पैसा चाहिन्छ । पैसा आफूसँग नहुन पनि

सक्दछ ।



यसरी आवश्यक पर्ने पैसा परम्परागत रूपमा साहु महाजनहरूले उपलब्ध गराउने गर्दथे र तिनले ऋणीसँग चर्को व्याज लिने गर्दथे । यो चलन अहिले पनि यदाकदा व्यवहारमा रहेको देखिन्छ । यसमार्फत कतिपय साहुहरूले अन्यायपूर्वक ऋणको अङ्क बढाउने र नाजायज रूपमा शोषण समेत गर्दथे वा गर्दछन् भन्ने पनि सुनिन्छ । तर आधुनिक र विकसित समाजमा यस्तो पैसा ऋणका रूपमा बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउँछन् ।



ऋणका स्रोतहरू के के हुन् ?



ऋणका विभिन्न स्रोतहरू छन् ।



– बैंक तथा वित्तीय संस्था



बैंक तथा वित्तीय संस्था भरपर्दो, सुरक्षित र धेरै प्रकारको लाभ हुने ऋणको स्रोत हो । बैंक तथा वित्तीय संस्थाले घर, जग्गा, सुन वा अन्य सम्पत्ति धितो लिएर ऋण प्रदान गर्छन् । यसै गरी, लघुवित्त वित्तीय संस्थाहरूले विभिन्न व्यवसायिक कार्यका लागि सामूहिक जमानीमा लघुकर्जा प्रदान गर्दछन् ।



-बचत तथा ऋण सहकारी संस्था



हाम्रो समाजमा विभिन्न उद्देश्यले सञ्चालन भइरहेका बचत तथा ऋण सहकारी संस्थाहरूले व्यवसायिक वा निजी प्रयोजनको लागि धितो सहित वा बिना धितोको ऋण प्रदान गर्छन् ।



– व्यवसायिक ऋण प्रदानकर्ता



व्यवसायिक ऋण प्रदानकर्ता संस्थाहरूले लाभ हुने व्यवसायमा लगानी स्वरूप ऋण प्रदान गर्छन् । यस प्रकारको ऋणको ब्याज, धितो र समयसिमा लगानीकर्ता र व्यवसायीबीचको सहमतिमा निर्धारण हुन्छ ।



– साथीभाइ वा परिवार



साथीभाइ, परिवार वा इस्टमित्रहरू पनि आवश्यक ऋणको स्रोत हुन सक्छन् । यस प्रकारका ऋण कम खर्चिलो, सहज र बिना धितोको हुन सक्छ ।



– सरकारी वित्तीय सहयोग



उर्जाशील उद्यमी र व्यवसायीहरूलाई सरकारको कार्यक्रम अनुसार बिना धितो र कम ब्याजमा ऋण प्रदान गर्ने व्यवस्था समेत रहेको छ । यस प्रकारको ऋणको लागि सरकारी कार्यालयमा सम्पर्क गरी निवेदन दिनुपर्छ ।



औंपचारिक र अनौंपचारिक ऋण



औपचारिक ऋण भन्नाले बैंक वा वित्तीय संस्थाबाट लिइएको कर्जा वा ऋणलाई बुझिन्छ । औपचारिक कर्जाका धेरै फाइदाहरू छन् । अनौपचारिक ऋण भनेको परिवार, साथीभाइ वा गाउँमा साहु तथा महाजनसँग लिने ऋण हो । अनौपचारिक ऋण छिट्टो र झन्झट रहित किमिसले पाइन्छ तर यसका बेफाइदहरू पनि छन् ।



औपचारिक र अनौपचारिक ऋणका फाइदा र बेफाइदा देहाय अनुसार छन् :

कस्तो कार्यको लागि ऋण लिनुपर्छ ?



ऋण चुक्ता गर्दा ब्याज सहित तिर्नुपर्ने हुन्छ । त्यसैले ऋण लिँदा तिर्न सक्ने र आवश्यक पैसा मात्र लिनुपर्छ । हामी व्यापार गर्न ऋण लिन्छौं भने त्यसले आम्दानी वृद्धि गर्छ र हामी ऋण तिर्न सक्छौँ ।



हाम्रो कुल आम्दानी वृद्धि गर्न मद्दत गर्ने कार्यको लागि मात्र ऋण लिनुपर्छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु अगाडि बैंक तथा वित्तीय संस्थामा गएर राम्रोसँग बुझ्ने र सौदाबाजी गर्ने बानी बसाउनु पर्छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको नीति नियमको बारेमा जानकारी राखिराख्नु पर्दछ । ऋण लिनुअघि देहायका विषयमा जानकारी लिएर मात्र ऋण लिने सम्बन्धी निर्णय गर्नुपर्छ ।



ऋण लिने निर्णय गर्नु अगाडि देहायका केही प्रश्न आफैँलाई सोध्नु पर्दछ । यी प्रश्नहरूको चित्त बुझ्दो जवाफ पाएपछि मात्र ऋणको प्रक्रिया अगाडि बढाउनु राम्रो हुन्छ ।

-तपाईंले कसैलाई दिनुभएको ऋण उसले फिर्ता गरेको छैन भने कस्तो महसुस गर्नुहुन्छ ?

-कुनै संस्थाको सामान लिएर फिर्ता गर्ने समयमा फिर्ता गर्न सक्नुभएको छैन भने कस्तो

लाग्छ ?

– परिवारको सदस्यले ऋण लिएमा उसको दायित्व के के हुन सक्छ ?

– ऋण लिने व्यक्तिले आफ्नो विश्वास गुमाएमा के के हुन सक्ला ?



यसै गरी, ऋण लिनुअघि आफ्नो आयस्रोत र बचत कति छ विचार गर्नुपर्छ । ऋण चुक्ता गर्ने रकम मासिक आम्दानीको २० प्रतिशत मात्र भएमा ऋण भुक्तानी गर्न सजिलो हुन्छ । जस्तै :



आम्दानी रु. ५०,०००।– छ भने यसको २० प्रतिशतले हुने रकम रु. १००००।– भन्दा धेरै रकम सकेसम्म ऋण चुक्ता गर्न साँवा तथा ब्याज भुक्तानीको रूपमा प्रयोग गर्नु हुँदैन । भयो भने कुनै बेलामा समस्या पर्न सक्छ ।



यसै गरी, लगानी गरेको रकमको १०० प्रतिशत नै अर्थात् लगानीको सबै रकम ऋणको भरमा हुनु हुँदैन । लगानीको ५० प्रतिशत रकम तपाईंको आफ्नो हुनुपर्छ । यसले लगानी गर्ने मान्छेलाई हुनसक्ने जोखिम र बैंकलाई हुनसक्ने जोखिम दुवैलाई कम गर्छ । पहिला नियमित बचत गर्ने बानी बसालेर मात्र ऋण लिनु पर्दछ । बचत गर्ने बानी नबसाली ऋण लिनु हुँदैन ।



ऋण प्रकारहरू



ऋण धेरै प्रकारका हुन्छन् । आफूलाई आवश्यक पर्ने ऋण प्राप्त गर्नुअघि बैंक वा वित्तीय संस्थाहरूले कस्ता खालका ऋण प्रदान गर्छन्, तिनको ब्याजदर तथा भुक्तानी गर्ने अवधि कति छ भन्ने कुरा बुझ्नुपर्छ ।



– व्यक्तिगत ऋण : निजी सम्पत्तिलाई धितो राखेर प्राप्त हुने ऋणलाई व्यक्तिगत कर्जा वा ऋण भनिन्छ ।

– व्यवसायिक कर्जा : नियमित व्यवसायिक कार्यको लागि निश्चित समयमा चुक्ता गर्नुपर्ने ऋण नियमित ऋण हो । यस्तो ऋण व्यवसायलाई नै धितो राखेर पाइन्छ ।

– कृषि कर्जा : कृषि व्यवसाय र कृषिजन्य उत्पादनको लागि प्राप्त हुने ऋण कृषि ऋण हो । यस बाहेक परियोजनालाई धितो राखेर व्यवसायिक कृषि कार्यका लागि पनि बैंक तथा वित्तीय संस्थाले कृषि ऋण प्रदान गर्दछन् ।



– सहुलियतपूर्ण ऋण : व्यवसायिक रूपमा कृषि तथा पशुपन्छीजन्य व्यवसायका लागि, महिला उद्यमीहरूका लागि, विदेशबाट फर्केका युवाहरूका लागि, दलित समुदायको विकासको लागि, शिक्षित युवा स्वरोजगारका लागि, उच्च तथा व्यवसायिक शिक्षा आर्जन गर्नेहरूका लागि नेपाल सरकारले

ब्याजदरमा सहुलियत दिएर व्यवस्था गरेको ऋणलाई सहुलियतपूर्ण ऋण भनिन्छ ।



यस्तो सहुलियतपूर्ण ऋण आवश्यक प्रक्रिया पूरा गरेपछि ऋणको लागि निवेदन दिने निवेदकलाई बैंक तथा वित्तीय संस्थाहरूबाट उपलब्ध हुने व्यवस्था छ । यस बाहेक अरू शैक्षिक ऋण, खास विषयमा विज्ञता हासिल गरेका व्यक्तिलाई प्रदान गर्ने ऋण आदि थुप्रै प्रकारका ऋणहरू बैंक र वित्तीय संस्थाहरूले प्रदान गर्दछन् ।



बैंक तथा वित्तीय संस्थाको आफ्नो कर्जा तथा लगानी योजना अनुसार फरक–फरक विशेषता भएका फरक फरक प्रकारका ऋण पनि उनीहरूले प्रदान गर्ने गरेका छन् ।



ध्यान दिनुपर्नेकुरा

(क) ब्याजदर



हामीले जस्तो ऋण लिए पनि त्यससँगै तिर्नुपर्ने ब्याजको हिसाब राख्नुपर्छ । ब्याजदर यस्तो महत्वपूर्ण पाटो हो जसले ऋण चुक्ता गर्ने बेलामा जम्मा रकम कति बुझाउने भन्ने निर्धारण गर्छ । त्यसैले कर्जा लिँदा कति ब्याजदरमा लिने भन्ने विषय निश्चित गर्नु पर्दछ । ऋण प्रदान गर्ने धेरै बैंक तथा वित्तीय संस्था र ऋणका कार्यक्रम भएकाले कार्यक्रमहरू बीच तुलना गरेर उपयुक्त ऋण लिनुपर्छ ।



(ख) ऋणको अवधि



ऋण चुक्ता गर्ने समयावधिले पनि ऋण चुक्ता गर्दा मासिक वा त्रैमासिक साँवा ब्याजको लागि कति रकम लाग्छ भन्ने कुरा निर्धारण गर्छ । त्यसैले, ऋण कति अवधिमा तिरिसक्नुपर्ने हो र एक पटक किस्ता तिर्दा कति तिर्नुपर्छ भन्ने विषयमा ऋण लिनुअघि नै प्रष्ट हुनु पर्दछ ।



(ग) आफ्नोआर्थिक स्थिति



ऋण लिनुअघि सोच्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो आर्थिक स्थिति हो । आफ्नो आर्थिक स्थिति मूल्याङ्कन गरेर साँवा, ब्याज र अरू शुल्कहरू तिर्न सकिन्छ भने मात्र ऋण लिनु पर्दछ । यसो गर्नाले धितोमा राखेको सम्पत्ति नास हुने सम्भावना कम हुन्छ र ऋण तिर्न नसक्ने जोखिमको मात्रा पनि कम हुन्छ ।



राष्ट्र बैंकको वित्तीय साक्षरता पुस्तकबाट