December 13th, 2024

घरजग्गा कारोबार धरासायी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

बैंकिङ खबर/ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धरासायी हुन नदिने बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभा उद्‍घाटन गर्दै मन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठूलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धरासायी हुन नदिने बताए।

सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने उनले बताए। उनले घरजग्गा कारोबारमा देखिएको शिथिलताको प्रभाव अरु क्षेत्रमा देखिएको भन्दै यसलाई गति दिनका लागि सरकारले आवश्यक वातावरण बनाउने उल्लेख गरे।

जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिनका लागि आफू सकारात्मक रहेको भन्दै उनले यस विषयमा छलफलमा आउन व्यवसायीहरूलाई आग्रह गरे। उनले अनुमति प्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने ऐन कार्यान्वयनका लागि नियमावली बनाउन सरकारको ध्यान जाने बताए।