December 11th, 2024

अर्थमन्त्री भन्छन् –अहिलेको आर्थिक प्रगतिसँग म सन्तुष्ट छैन


बैंकिङ खबर/ अर्थतन्त्रको अहिलेको अवस्थाबारे आफू सन्तुष्ट नरहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा सांसदहरूजस्तै आफू पनि सन्तुष्ट नरहेको बताए ।

अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान गर्दै गएको पनि पौडेलको भनाइ थियो । लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारका लागि केही समय लाग्ने उनले बताए ।

‘अर्थतन्त्र समस्यामा छ, केही कठिनाइ छ । यो अस्वीकार गर्नुपर्ने विषय होइन । तर क्रमशः हाम्रा समस्या समाधान हुँदै गएका छन् र सुधारका काममा सफल हुँदै पनि गएका छौं । लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न सकिँदैन । यसका लागि केही समय लाग्छ, जुन हामीले निरन्तर प्रयास गरिरहेका छौं । हाम्रो अर्थतन्त्रका केही पक्षहरू राम्रा छन् । विदेशी मुद्राको सञ्चिति राम्रो छ । ब्यालेन्स अफ पेमेन्टको अवस्था राम्रो छ । तरलताको अवस्था राम्रो छ । बैंकको ब्याजदर एकल अंकमा आएको छ । मूल्यवृद्धि नियन्त्रणमा छ । सेयर बजार लगायत अर्थतन्त्रका केही पक्षमा सकारात्मक अवस्था छ,’ मन्त्री पौडेलले भने, ‘अहिलेको आर्थिक प्रगतिसँग म स्वयं सन्तुष्ट छैन, यहाँहरू पनि हुनुहुन्न । सरकारले अर्थतन्त्र सुधारमा धेरै प्रगति गर्नुछ । समस्याका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धि आर्जन गर्नुछ । त्यसका लागि सार्थक प्रयास चाल्नुछ ।’

अर्थमन्त्री पौडेलले राजश्व परिचालनका सन्दर्भमा चालु आर्थिक वर्षको चार महिनामा राम्रो रहेको बताए ।