November 10th, 2024

बैंकिङ अपडेट भन्दै ह्याकरले चोरे जनप्रतिनिधिकै तीन लाख

बैंकिङ खबर/ अनलाइन बैंकिङ अपडेट भन्दै एक जनप्रतिनिधिको तीन लाख रुपैयाँ चोरी भएको घटना बाहिरिएको छ । नागार्जुन नगरपालिकाका एक वडा सदस्यको खाताबाट शुक्रबार तीन लाख चोरी भएको हो । बैंकबाट फोन गरेको भन्दै खाताको विस्तृत विवरण मागेर अनलाइनमार्फत पैसा चोरी भएको ती वडा सदस्यले बताएका छन् ।

कृषि विकास बैंकमा रहेको खाताबाट ह्याकरले अनलाइन ट्रान्सफर गरी पैसा चोरी गरेका हुन् । ह्याकरले बैंकको आइटी शाखाबाट अनलाइन बैंकिङ सिस्टम अपडेटका लागि भन्दै खाता नम्बर र जन्म मिति मागेका थिए । विश्वासमा परेर उनले खाता नम्बर र जन्ममिति मात्र होइन, ओटिपीसमेत दिए । त्यसको केही समयमै उनको खाताबाट तीन लाख रुपैयाँ अन्यत्र ट्रान्सफर भएको हो ।

चारवटा बैंक खाता हुँदैपछि आइएमईबाट उक्त रकम निकालिएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरोले घटनाको अनुसन्धान गरिरहेको छ ।
शुक्रबार नै खेलाडी दीपक विष्टको खाताबाट पनि त्यसैगरी रकम निकाल्ने प्रयास भएको थियो ।

कृषि विकास बैंकको प्रधान कार्यालयबाट भन्दै उनलाई फोन गरी खाता नम्बर र जन्ममिति मागिएको थियो । सुरुमा उनले खाता नम्बर र जन्ममिति समेत दिए । पछि शंका लागेर तत्कालै खाता रोक्का गराएको र ठगीनबाट जोगिएको उनले सामाजिक सञ्जालबाट घटनाबारे जानकारी गराएका छन् ।

प्रहरीको सिआइबीले शुक्रबार नै सूचना जारी गरी अनलाइन ठगीका घटना बढेको भन्दै शंकास्पद नम्बरबाट फोन आए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।