October 17th, 2024

दुुई महिनामा भित्रियो दुई अर्ब ७१ करोड वैदेशिक लगानी

बैंकिङ खबर/ चालु आर्थिक वर्षको दुई महिनामा पौनै तीन अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको साउन र भदौमा मुलुकमा दुुई अर्ब ७१ करोड रुपैयाँ भित्रिएको हो ।

अघिल्लो वर्ष सो अवधिमा तीन अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको तुुलनामा २९ करोड रुपैयाँ कम वैदेशिक लगानी भित्रिएको हो । यस्तै दुुई महिनामा खुुद पुँजीगत ट्रान्सफर एक अर्ब २० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष सो अवधिमा खुद पुुँजीगत ट्रान्सफर ८५ करोड आठ लाख रुपैयाँ कायम भएको थियो ।

उद्योग विभागका अनुसार भदौमा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । नेपालमा लगानी गर्ने भनेर आठ अर्ब ९७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आए पनि भित्रिने रकम भने न्यून रहेको तथ्यांकले देखाएको छ ।
आव २०८०/८१ मा ६१ अर्ब ९० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएकोमा आठ अर्ब ४० करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आव २०७९/८० मा ३८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएकोमा छ अर्ब १७ करोड रुपैयाँ भित्रिएको थियो ।

विभागका अनुसार भदौमा स्वचालित मार्गबाट ८६ करोड २५ लाख रुपैयाँ आएको छ । ५२ वटा परियोजनामार्फत सो रकम भित्रिएको हो । स्वचालित मार्गबाट सबैभन्दा धेरै सूचना प्रविधि परियोजनामा ३८, पर्यटनमा आठ, सेवामूलकमा तीन, उत्पादनमूलक दुई र पूर्वाधारमूलक एक परियोजनामा लगानी भित्रिएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार विभिन्न देशबाट भित्रिएका वैदेशिक लगानीमध्ये औद्योगिक क्षेत्रमा सबैभन्दा धेरै ५९.७ प्रतिशत रहेको छ । यस्तै औद्योगिक क्षेत्रका विद्युत्, ग्यास, एयर कन्डिसनलगायतका क्षेत्रमा ३० प्रतिशत र उत्पादनमूलक क्षेत्रमा २९.४ प्रतिशतमा लगानी छ । ४०.२ प्रतिशत लगानी सेवा क्षेत्रमा, वित्तीय संस्थाहरूमा २६ प्रतिशत, सूचना र सञ्चार क्षेत्रमा ६.७ प्रतिशत, होटललगायतका क्षेत्रमा ६.३ प्रतिशत छ ।