
-कृष्ण बाबू घिमिरे-
व्यवसायको भावी सफलता भनेको नै वर्तमानको सफलता भएकोले व्यवसायहरूलाई निरन्तर र निर्वाहक रुपमा सञ्चालन गर्नको लागि कार्यशील पूँजीको त्यति नै आवश्यकता पर्दछ जति मानव शरीरमा रक्तको आवश्यकता पर्दछ ।
सामान्यतया व्यवसाय सञ्चालनका लागि कार्यशील पूँजी र स्थिर पूँजीको आवश्यकता पर्दछ। स्थिर सम्पत्तिहरूमा गरिने लगानीलाई स्थिर पूँजी भनिन्छ भने चलसम्पत्तिमा गरिने लगानीलाई कार्यशील पूँजी भनिन्छ । नगद एवं बैंक मौज्दात, कच्चा पदार्थ, अर्ध निर्मित वस्तु तथा तयारी मालसामान र प्राप्य बिलहरूमा गरिने लगानी कार्यशिल पूँजी मानिछ ।
अर्को शब्दमा भन्नुपर्दा चलसम्पत्ति र चल दायित्वको फरकनै कार्यशील पूँजी हो। चल सम्पत्ति भन्नाले प्राय एक वर्षभित्रै नगदमा परिणत गर्न सकिने सम्पत्तिलाई जनाउदछ भने एकै वर्षभित्र भुक्तानी गरी सक्नुपर्ने दायित्व लाई चल दायित्व भनेर बुझिन्छ ।
कार्यशील पूँजी दैनिक कार्य सञ्चालनमा प्रयोग हुन्छ। यसको मतलब व्यवसायमा हुने गतिविधिहरूलाई चुस्तदुस्त तरिकाले लैजानको लागि मौज्दात व्यवस्थापन, कच्चा पदार्थ व्यवस्थापन तथा उधारोमा गरिएको बिक्री रकम आदिमा गरिएको लगानी हो।
कुनै व्यवसायिहरुले आफ्नै पूँजी लगानीको स्रोतबाट कार्यशिल पूँजीको व्यवस्थापन गर्दछन् भने कुनैले बैंक तथा वित्तीय क्षेत्रबाट कर्जा उपभोग गरी व्यवस्थापन गर्दछन्, व्यवसायमा पर्याप्त कार्यशील पुँजी नभएमा दैनिक कार्य चलायमान हुनसक्ने अवस्था रहन्न साथै यसको उचित व्यवस्थापन गर्न नसक्दा कतिपय व्यवसायीहरु कर्जाको साँवा तथा ब्याज भुक्तान गर्न नसकी बन्द गर्ने अवस्थामा पुगेका छन् ।
तसर्थ व्यवसायको वित्तीय व्यवस्थापकले आफ्नो कार्य समयको अधिकांश समय कार्यशील पूँजी सम्बन्धी क्रियाकलापहरूमा समर्पण गर्नुपर्ने हुन्छ । हरेक व्यवसायमा चलदायित्वको तुलनामा चलसम्पत्ति बढी हुनु राम्रो हो ।
चलसम्पत्ति बढी भएमा तरलता बढ्न जान्छ जसले सवल वित्तीय स्थितिको संकेत दिन्छ तर यसबाट स्थिर सम्पत्तिमा पर्याप्त लगानी हुन नसकी नाफामा कमी आउन जान्छ जसले गर्दा नाफा र तरलताबीच समन्वय कायम गरी उपयुक्त मात्रामा चल सम्पत्तिमा लगानी गर्नुपर्दछ । औसतमा चालू दायित्व भन्दा चालू सम्पत्ति २ गुणा बढी भएको राम्रो मानिन्छ ।
कार्यशिल पूँजी ब्यबस्थापन गर्न किन आवश्यक छ ?
– व्यवसायको वित्तीय स्रोत परिचालन गर्न कार्यशिल पूँजीले मुबिल को रुपमा रोल खेल्ने भएकोले यसको व्यवस्थापन गर्न अतिनै महत्वपूर्ण रहेको छ ।
– एउटा वित्तीय व्यवस्थापकले कुल कार्यसमयको अधिकांश समय कार्यशील पूँजीको व्यवस्थापनमा व्यतित गर्नुपर्ने हुन्छ। त्यसैले व्यवस्थापकले प्रशस्त समय नगद उधारो व्यवस्थापनमा बिताउने भएकाले कार्यशील पूँजीको व्यवस्थापन गर्नु अति नै आवश्यक छ।
– व्यवसायको कुल लगानीमध्ये अधिकांश लगानी कार्यशील पूँजीमा गरिने भएकोले यसको प्रभावकारी व्यवस्थापन गर्नु अति नै महत्वपूर्ण छ।
– ठूला तथा साना व्यवसायीहरूलाई कार्यशील पूँजीको अति नै आवश्यक पर्दछ। साना व्यवसायीहरूले स्थिर पूँजीमा लगानी कम गर्नको लागि भाडामा लिने गर्दछन् र चलसम्पत्तिमा गर्ने लगानी कम गर्नको लागि यसले पूँजीको व्यवस्थापन प्रभावकारी रूपमा गर्नुपर्दछ।
– बिक्री बढाउनका लागि आवश्यक मौज्दातको उचित व्यवस्थापन गर्नको लागि चल सम्पत्तिमा पर्याप्त लगानि गर्नु पर्दछ ।
अत: व्यवसायमा कार्यशिल पूँजी व्यवस्थापनको आवश्यकता र महत्त्व यथार्थमा ठूलो छ। प्रभावकारि कार्याशिल पूँजी व्यवस्थापन भएमा मात्र भबिस्यमा लगानिकर्ताको धन वृद्धि गर्दै व्यवसायको अस्तित्व टिकाउन सकिन्छ ।
कार्यशिल पूँजीले दैनिक सञ्चालनका लागि आवश्यक पूँजी सुनिश्चित गर्न मद्दत पुर्याउँछ, आपूर्ति श्रृंखला र संचालनलाई सहज बनाउँछ, र नगद प्रवाहलाई नियन्त्रणमा राख्छ।
राम्रो व्यवस्थापनले व्यवसायलाई आर्थिक स्थिरता र वृद्धि प्राप्त गर्नमा सहयोग पुर्याउँछ, कार्याशिल पूँजीको उचित ब्यबस्थापन गर्दा बर्तमान तथा दीर्घकालमा नाफाको अन्समा अनुकुल प्रभाव पर्दछ साथै तरलता को समस्या पनि आउँदैन ।
उठाउन बाँकी रकम र तिर्न बाँकी रकम को उचित व्यवस्थापन गरेमा मात्र पनि कार्याशिल पूँजीको पर्याप्त प्रवाह हुन्छ र अन्य सूचक व्यवस्थापन गर्न पनि सहज हुन्छ ।
(बैंकर घिमिरेका उल्लेखित विचार निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैन)




