बैंकिङ खबर/ ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन आज हुँदैछ । टानको नेतृत्वका लागि पर्यटन व्यवसायी सागर पाण्डे र राजेन्दप्रसाद सापकोटा भिड्दैछन् ।
सापकोटालाई कांग्रेस र एमालेनिकट व्यवसायीको समर्थन छ । तर सापकोटाको राजनीतिक गुटविरुद्ध उत्रिँदै पाण्डेलाई विजयी गराउन व्यवसायहरुको साझा समूहले समर्थन गरेका छन् ।
सापकोटा अध्यक्ष रहेको प्यानलमा नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनले समर्थन जनाएको छ ।
तर सापकोटाप्रति रुष्ट भएका कांग्रेसका व्यवसायीहरुले सागर पाण्डेलाई भोट मागि रहेका छन् ।
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँले समेत सागर पाण्डेलाई साथ दिइ रहेका छन् । अब टानमा राजनीतिक सिण्डिकेट प्रणालीलाई भत्काउन उनले आग्रह गर्दै टानलाई जोगाउने हो भने यो पटक जसरी पनि सागर पाण्डे समूहलाई जिताउनु पर्ने बताएका छन् । उनले एकाध पात्रहरुले टानमा जहिल्यै पनि सिण्डीकेट लादेको र यस्ता धमिराहरुको सिण्डीकेट नभत्काए पर्वतीय पर्यटन ध्वस्त हुने चेतावनी समेत दिँदै आएका छन् ।
यस निर्वाचनमा कांग्रेस निकट मतदाता निर्णायक रहेकामा उनीहरुको अधिकांश मतदाता पाण्डे समुहको पक्षमा देखिएका छन् । धेरै जसो मतदाता पार्टीगत भन्दा पनि संस्थाको हित र रक्षा गरि संस्थाको गरिमा बढाउन पाण्डे समुहलाई निर्वाचनमा मतदान गर्ने तर्क गरिरहेका छन् ।
पार्टीभन्दा माथि संस्था भएको उनीहरुको तर्क रहेको छ । त्यसमाथि पनि एमाले–कांग्रेस गठबन्धनभित्रको व्यापक असन्तुष्टिले पनि पाण्डे समुह विजयको बलियो दाबेदार रहेको उनीहरुको बुझाइ छ । अर्को समुहबाट संस्थाको हित हुन नसक्ने भन्दै धेरै जसो व्यवसायी पाण्डे समुहलाई मतदान गर्न अन्य व्यवसायीहरुलाई समेत मनाउने कार्य गरिरहेका छन् ।
पर्यटन क्षेत्रमै ३० वर्ष बिताएका पाण्डेलाई सागर पाण्डेलाई जुझारु व्यावसायीकको साथ र समर्थन छ । पाण्डेले पर्यटन व्यवसायीको हक हितका लागि २२ बुँदे घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् ।
पाण्डेले ट्रेकिङ व्यवसायीहरुका लागि टान अक्षयकोष निर्माण गर्ने, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनी मार्फतमात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउने एजेण्डा अगाडि सारेका छन् ।
यस्तै, टिम्सको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्ने, करसम्बन्धी समस्या समाधान गर्ने, पर्यटक सवारीसाधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरि कार्यान्वयन गराउने, पदमार्गको प्रचारप्रसारलाई प्राथमिकता दिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
सागर पाण्डेले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिक रुपमा उठान गरिने उल्लेख गरेको छ भने पर्यटन ऐनलाई समय सापेक्ष बनाइने, ‘एक्सपेरियन्सल टुरिजम’ को विकास गरिने र अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गर्ने पनि योजना बनाएका छन् ।
नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गर्ने, एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता संस्थाहरूसँग सहकार्य गरिने पाण्डेको घोषणा पत्रमा उल्लेख छ ।
यस्तै पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गर्ने, पर्यटन सम्बद्ध अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने, पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गर्ने, कानूनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गर्ने देखि पर्यटन बोर्डमा पर्यटन संघसंस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने बताइएको छ ।
हाम्रो पार्टी भनेकै टान होः पाण्डे
पाण्डेले आफू ३० वर्षदेखि पर्यटन क्षेत्र र ट्रेकिङ पेसामा आबद्ध रहेकाले ट्रेकर्सहरुको समस्या र समाधानबारे स्पष्ट रहेको बताउँछन् । पाण्डे आफूहरु व्यावसायीक र समावेशी समूह भएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो उम्मेदवारी टानमा भइरहेको सिण्डीकेटको विरुद्धमा हो । हामी कुनै राजनीतिक दलको सम्झौतामा बाँधिएका छैनौं । हाम्रो पार्टी भनेकै पर्यटन हो, हाम्रो पार्टी भनेकै टान हो ।’ विपक्षीको समूहका उम्मेदवारहरु व्यवसायभन्दा पनि राजनीतिबाट प्रेरित रहेको पाण्डेले बताएका छन् ।