August 31st, 2024

राजनीतिक गुटविरुद्ध ट्रेकिङ व्यवसायीहरु एकीकृत हुँदै

बैंकिङ खबर/ ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल (टान) को नयाँ कार्य समितिका लागि यही भदौ १७ गते निर्वाचन हुँदैछ । निर्वाचनका लागि अध्यक्षमा पर्यटन व्यवसायी सागर पाण्डे र राजेन्दप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराइसकेको छ । सापकोटालाई कांग्रेस र एमालेनिकट व्यवसायीको समर्थन छ ।

सापकोटाको राजनीतिक गुटविरुद्ध उत्रिँदै पाण्डेलाई विजयी गराउन व्यवसायीहरुको साझा समूहले साथ र समर्थन गरेको छ । पाण्डेलाई संस्थापक लोकतान्त्रिक पर्यटन संघ, गतिशील पर्यटन व्यवसायी समूह, गतिशील पर्यटन व्यवसायी समूह, पर्यटन व्यवसायी संगठन नेपाल, नेपाल पर्यटन व्यवसायी संगठन, शेर्पा पर्यटन व्यवसायी संघहरुको समर्थन रहेको छ ।

पाण्डे समूहमा वरिष्ठ उपाध्यक्षका लागि चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षका लागि दावा लामा तामाङ, द्वितीय उपाध्यक्षका लागि निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने, सह–कोषाध्यक्षमा डम्बर अधिकारी उम्मेदवारी दिएका छन् ।

यस्तै सदस्यहरुमा सृष्टि भण्डारी, अम्बिर गुरुङ, माधवकुमार धमला, विनोदकुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, शिवप्रसाद सिलवाल, उत्सव ढकाल र फुर्पुछिरिङ ल्होमी(भोटे) उम्मेदवारी दिएका छन् ।

पाण्डेलाई जुझारु व्यवसायीको साथ

सागर पाण्डेलाई जुझारु व्यावसायीहरुको साथ र समर्थन रहेको छ । पाण्डेले पर्यटन व्यवसायीको हक हितका लागि २२ बुँदे घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् । उक्त घोषणापत्र कसैले लेखि पठाएको वा घोकेर नआएको पाण्डे बताउँछन् ।

ट्रेकिङ व्यवसायलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने अनुभवका आधारमा तयार पारेको पाण्डेको भनाइ छ । पाण्डेले ट्रेकिङ व्यवसायीहरुका लागि टान अक्षयकोष निर्माण गर्ने, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउने एजेण्डा अगाडि सारेका छन् ।

यस्तै, टिम्सको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्ने, करसम्बन्धी समस्या समाधान गर्ने, पर्यटक सवारीसाधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरि कार्यान्वयन गराउने, पदमार्गको प्रचारप्रसारलाई प्राथमिकता दिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

सागर पाण्डेले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिक रुपमा उठान गरिने उल्लेख गरेको छ भने पर्यटन ऐनलाई समय सापेक्ष बनाइने, ‘एक्सपेरियन्सल टुरिजम’ को विकास गरिने र अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गर्ने पनि योजना बनाएका छन् । नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गर्ने, एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता संस्थाहरूसँग सहकार्य गरिने पाण्डेको घोषणा पत्रमा उल्लेख छ ।

यस्तै पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गर्ने, पर्यटन सम्बद्ध अन्य संघसंस्थासँग सहकार्य गर्ने, पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गर्ने, कानूनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गर्ने देखि पर्यटन बोर्डमा पर्यटन संघसंस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने बताइएको छ ।

हाम्रो पार्टी भनेकै टान हो : पाण्डे

पाण्डेले आफू ३० वर्षदेखि पर्यटन क्षेत्र र ट्रेकिङ पेसामा आबद्ध रहेकाले ट्रेकर्सहरुको समस्या र समाधानबारे स्पष्ट रहेको बताउँछन् ।
पाण्डे आफूहरु व्यावसायीक र समावेशी समूह भएको बताउँछन् ।

उनी भन्छन्, ‘हाम्रो उम्मेदवारी टानमा भइरहेको सिण्डीकेटको विरुद्धमा हो । हामी कुनै राजनीतिक दलको सम्झौतामा बाँधिएका छैनौं । हाम्रो पार्टी भनेकै पर्यटन हो, हाम्रो पार्टी भनेकै टान हो ।’ विपक्षीको समूहका उम्मेदवारहरु व्यवसायभन्दा पनि राजनीतिबाट प्रेरित रहेको पाण्डे बताउँछन् ।