August 21st, 2024

‘उद्यमीलाई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्छ’

बैंकिङ खबर/प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने बताएका छन् । ‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए ।

आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड दिए ।

‘हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लैजानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन’, प्रधानमन्त्री ओलीले भने,’हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौँ । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।’ उनले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् ।