August 18th, 2024

साउन महिनामा ९४ अर्ब राजस्व संकलन

बैंकिङ खबर/ चालू आर्थिक वर्ष ०८१/ ८२ को पहिलो महिनामा ९४ अर्ब बढी राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन महिनामा सरकारले ९४ अर्ब ७४ करोड राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्य १४ खर्ब १९ अर्बको ६.६८ प्रतिशत बराबर हो ।

यस अवधिमा सरकारले ७७ अर्ब ४१ करोड कर राजस्व र १७ अर्ब ३३ करोड गैरकर राजस्व संकलन गरेको हो । सरकारले दुई अर्ब २१ करोड अन्य प्राप्तिसमेत गरेर कुल ९६ अर्ब ९५ करोड रुपैयाँ प्राप्ति गरेको छ । जुन खर्चको तुलनामा ५६ अर्ब ७५ करोड रुपैयाँले बढी हो ।

त्यस्तै, साउन महिनामा सरकारले कुल ४० अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ । जुन कुल वार्षिक बजेट १८ खर्ब ६० अर्बको २.१६ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले चालूतर्फ १२ अर्ब ३८ करोड, पुँजीगततर्फ ८५ करोड र वित्तीय व्यवस्थातर्फ १९ अर्ब २७ करोड खर्च भएको हो ।

सरकारले गएको आर्थिक वर्षको पहिलो महिनाको तुलनामा राजस्व संकलन र खर्च दुवै बढाएको छ । गत आवको साउनको तुलनामा चालू आवको साउनमा राजस्व संकलन १५ अर्ब ८७ करोड र खर्च पाँच अर्ब १७ करोडले बढी भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

गत आवको पहिलो महिनामा ७८ अर्ब ८७ करोड राजस्व संकलन भएको थियो । जुन कुल लक्ष्य १४ खर्ब २२ अर्बको ५.५४ प्रतिशतबराबर थियो । उक्त महिनामा ३५ अर्ब तीन करोड कुल खर्च भएको थियो । जुन विनियोजित बजेट १७ खर्ब ५१ अर्बको २ प्रतिशतबराबर थियो । उक्त महिनामा चालूतर्फ १२ अर्ब १३ करोड, पुँजीगततर्फ ८२ करोड र वित्तीय व्यवस्थातर्फ २२ अर्ब सात करोड रुपैयाँ खर्च भएको थियो ।