August 9th, 2024

प्राधिकरणमा कुलमान घिसिङको तीन वर्ष : यस्ता छन् उपलब्धिहरु(पूर्णपाठ)

बैंकिङ खबर/ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् । २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएका थिए ।
त्यसअघि पनि उनी एक कार्यकाल कार्यकारी निर्देशक भएका थिए ।

कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् ।

ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७८/७९ र आव २०७९/८० मा क्रमश : ९४.२३ र ९.९४ प्रतिशत अंक प्राप्त भएको उनले बताए ।

यस्तै आ.व. २०८०/८१ को मूल्याङ्कनको क्रममा रहेको घिसिङले बताए । उनका अनुसार आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२÷७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो ।

तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको उनले बताए । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको घिसिङले बताए ।

यस्तै आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङ्ख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको छ भने अब छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको घिसिङले बताए ।