बैंकिङ खबर/चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धताको १४.९९ प्रतिशत मात्रै भित्रिएको छ । उद्योगको विभागको प्रतिबद्धता र नेपाल राष्ट्र बैंकको भित्रिएको रकमको तथ्यांक हेर्दा प्रतिबद्धता रकमको तुलनामा एफडीआई १५ प्रतिशत पनि भित्रिएको छैन ।
चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ५४ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । राष्ट्र बैंकको तथ्यांकमा खुद ८ अर्ब १६ करोड २२ लाख रुपैयाँ मात्रै एफडीआई भित्रिएको हो ।
८ अर्ब २३ करोड ६१ लाख रुपैयाँ विदेशी लगानी भित्रिए पनि ७ करोड ३९ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ८ अर्ब १६ करोड २२ लाख रुपैयाँ देखिएको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भित्रिएको रकम ७५.६ प्रतिशतले बढी रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ ।
चालु आर्थिक वर्षको जेठमा मात्रै ११ अर्ब २९ करोड ४६ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको थियो । सबैभन्दा बढी वैशाखमा १३ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ र सबैभन्दा कम माघमा ३४ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
गत वैशाखमा तेस्रो लगानी सम्मेलनबाट उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।
स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी गर्न सकिनेछ । सूचना प्रविधिमा आधारित उद्योगमा न्यूनतम सीमा लागू हुँदैन । जेठमा अटोमेटिक रुटबाट ८ अर्ब २७ करोड ९० लाख रुपैयाँ प्रतिबद्धता आएको थियो । अटोमेटिक रुट प्रणाली सुरु गरेकाले पनि विदेशी लगानी प्रतिबद्धता बढेको विभागले जनाएको छ ।
राष्ट्र बैंकका तथ्यांकमा सबैभन्दा बढी साउनमा २ अर्ब ६४ करोड ६२ लाख रुपैयाँ रकम भित्रिएको छ । सबैभन्दा कम कात्तिकमा २७ करोड १ लाख रुपैयाँ भित्रिएको थियो । जेठमा १ अर्ब १८ करोड रुपैयाँ एफडीआई भित्रिएको छ ।
गत आर्थिक वर्ष नेपालमा खुद ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र एफडीआई भित्रिएको छ । कुल ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ देखिएको छ । आर्थिक वर्ष ०७८÷७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो ।
उक्त वर्ष खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको थियो । कुल १९ अर्ब २१ करोड ९० लाख भित्रिए पनि ६५ करोड ८७ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएको थियो । त्यसैले खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको हो ।