बैंकिङ खबर/ स्टार्टअप उद्यम कर्जाबापत उद्यमीलाई १ करोड रुपैयाँभन्दा धेरै रकम वितरण गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउन योग्य १८३ वटा व्यावसायिक परियोजनालाई उद्यम कर्जा वितरण गर्न शुरु गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट रकम वितरण गरिएको औद्यौगिक व्यवसाय विकास प्रतिष्ठानले बताएको छ । अहिलेसम्म १९ व्यवसायीलाई १ करोड १ लाख ५० हजार रुपियाँ वितरण गरिएको छ ।
स्टार्टअप उद्यम कर्जामा छनोट भएका परियोजनालाई यो साताभित्रमा कर्जा वितरण गरिसक्ने योजना छ । सूची तयार पारेसँगै सहुलियतपूर्ण कर्जा वितरण शुरु भएको हो । छनोटमा परेको परियोजनाले राष्ट्रिय वाणिज्य बैंकबाट तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा पाउन थालेका छन् ।
छनोटमा परेका १८३ परियोजनालाई ५ लाख रुपैयाँदेखि २० लाख रुपियाँसम्म सहुलियत पूर्ण ऋण दिइएको छ । प्रतिष्ठानका अनुसार पहिलो किस्ताबापत ५लाख रुपैयाँ दिइने छ ।पहिलो किस्ताको प्रगति विवरणको प्रतिवेदनपछि दोस्रो किस्ता दिइने छ । सरकारले दिने ऋण भएकाले बैंकले बिनाधितो र धरौटी आयोजनालाई ऋण प्रवाह गर्ने छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंकले परियोजना र सञ्चालक कालोसूचीमा परे नपरेकोलगायतका विवरणहरु हेर्ने छ ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा वितरण गर्न २५ करोड रुपैयाँ विनियोजन गरेको थियो । विगत चार वर्षदेखि बजेटमा घोषणा हुँदै आएको स्टार्टअप उद्यम कार्यक्रम अहिले आएर कार्यान्वयनमा आएको छ ।