June 9th, 2024

मुद्दती निक्षेप के हो ? यसको लागि किन समय सीमा रहन्छ ?

बैंक तथा वित्तीय संस्थाहरूले बचतकर्ताहरूसँग छरिएर रहेको सानो तथा ठूलो रकम डिमाण्ड डिपोजिट र टाइम डिपोजिट गरी दुई तरिकाबाट आकर्षक ब्याज प्रदान गरी रकम जम्मा गर्न प्रोत्साहन गर्दछन् । डिमाण्ड डिपोजिट भन्नाले बचत खाता र चल्ती खाता पर्दछन् । बचत खातामा कम ब्याजदर प्रदान गरिएको हुन्छ भने चल्ती खातामा शून्य ब्याजदर प्रदान गरिएको हुन्छ ।

टाइम डिपोजिट भन्नाले बैंकले न्यूनतम तीन महिनाभन्दा लामो समयसम्मको लागि आकर्षक ब्याज प्रदान गरी बचत गर्न प्रेरित गर्दछ, भने त्यस्तो निक्षेपलाई टाइम डिपोजिट भनिन्छ ।

यसलाई मुद्दती निक्षेप वा फिक्स डिपोजिट पनि भनिन्छ। निश्चित समय अवधि तोकेर रकम जम्मा गरिने खाता मुद्दती खाता हो।
मुद्दती खातामा बचत खातामा भन्दा बढी ब्याजदर दिइन्छ । बैंकहरुले मुद्दती खाता र बचत खातामा पाउने ब्याजदरमा केही प्रतिशत फरक पारेर तय गरेका हुन्छन् ।

समयको आधारमा पनि मुद्दती खातामा फरक फरक ब्याजदर लगाएको हुन्छ । कम समय अर्थात् तीन महिनादेखि ६ महिनासम्मको स्थिर ब्याजदर भन्दा १–२ तथा छ वर्षको लागि तोकिने ब्याजदर धेरै हुन्छ । यसको मुख्य कारण भनेको लामो अवधिको निक्षेप रकमलाई ढुक्कसँग बैंकले कर्जा प्रवाह गर्न पाउने भएकाले हो ।

बैंकहरूले लगानी रणनीति अनुरोध निक्षेप मिश्रण पनि तय गरेका हुन्छन्। सामान्यतया कम लागतमा बचत तथा चल्ती खातामा बढी रकम संकलन गर्ने बैंकहरूले चाहन्छन् तर बचत रकम दीर्घकालीन नहुने भएकाले लगानी समायोजन गर्नको लागि मुद्दती रकममा उच्च ब्याजदर दिएर स्वीकार गर्दछन् ।

त्यसैले छोटो अवधिको लागि मुद्दती निक्षेप राख्दा त्यसले कोष व्यवस्थापनमा सहयोग गर्दैन किनकि बैंकहरुले २० देखि २५ वर्षका लागि आवधिक कर्जा प्रवाह गरिरहेका हुन्छन् त्यस्ता लगानीका लागि स्रोत परिचालन गर्ने भनेको स्वपुजी, वन्ड ऋणपत्र र मुद्दती निक्षेपबाट हो।

त्यसैले अतिनै छोटो मुद्दती निक्षेप स्वीकार गर्दा नवीकरण गर्न दौडधुप गर्नुपर्ने अस्थिरता ल्याएको छ। तसर्थ बैंकले दीर्घकालीन मुद्दती निक्षेप बढाउनका निम्ति अवलम्बन गरिरहनुपर्दछ ।

मुद्दती खाता खोल्नका लागि न्युनतम सीमा निर्धारण किन गरियो ? यस्तो छ कारण ।

एकातिर बैंकको बचत तथा चल्ती खातामा भएको निक्षेपको टिकाउ नहुने अर्कोतर्फ बैंकले दीर्घकालीन कर्जा प्रवाह गर्नुपर्ने यस्तो अवस्थामा तरलता व्यवस्थापनमा कठिनाइ हुने गर्दछ । तसर्थ तरलतामा कठिनाइ अवस्था सिर्जना हुनबाट कम गर्नको लागि न्यूनतम तीन महिना भन्दा कम समयका लागि मुद्दती राख्न नमिल्ने व्यवस्था राष्ट्र बैंकले प्रावधान बनाएको छ।

२०७६ वैशाख २९ भन्दा पहिले न्यूनतम ७ दिनका लागि पनि मुद्दती खोल्न पाउँथे र चाहेको बेला निकाल्न सक्ने अवस्था थियो। सो मितिदेखि यस्तो अस्वभाविक नितिलाई नियन्त्रण गर्न ने रा बैंकले न्यूनतम तीन महिनाको सीमा निर्धारण गर्यो। बैंक संगको आपसी समझदारीमा अधिकतम भने जति समय को लागि पनि मुद्दती खाता खोल्न सकिन्छ ।

लेखक
कृष्ण बाबू घिमिरे (बैंकर)
(उल्लेखित विचार लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैन)