May 8th, 2024

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक-थ्रु’

बैंकिङ खबर/सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको सुरुङ १८ महिनामै ‘ब्रेक थ्रु’ भएको छ। टीबीएम मेसिनबाट २०७९ असोज अन्तिममा सुरु गरिएको सुरुङ छोटो समयमै छिचोलिएको हो। मेसिनले १८ महिनामा १३ किलोमिटर सुरुङ खनेसँगै बुधबार ब्रेक थ्रुको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल समेत सहभागी भएका थिए।

टीबीएम मेसिनका उपकरण विभिन्न देशबाट भित्र्याई जडान गरिएको थियो। आयोजना आर्थिक वर्ष २०७३/०७४ मा सुरु भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० मा शिलान्यास गरेका थिए।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको जिम्मा पाएको चाइना ओभरसिजले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना पनि लक्ष्यभन्दा एक वर्षअगाडि नै पूरा गरेको थियो।

प्रधानमन्त्री प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।