Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

‘बजेट वाच’ को अर्धवार्षिक समीक्षा: बजेट कार्यान्वयनमा प्रगति

२०८० माघ २६ गते

बैंकिङ खबर/ गत आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ६ महिनाको दाँजोमा चालु आव २०८०/८१ को पहिलो ६ महिनामा बजेट कार्यान्वयन प्रक्रियाले गति लिएको पाइएको छ । नेपाल उद्योग परिसंघले आर्थिक पत्रकार समाज (सेजन) र पायोनियर ल फर्मसँगको सहकार्यमा गर्दै आएको ‘बजेट वाच’ को अर्धवार्षिक समीक्षाले यस्तो देखाएको हो ।

गत वर्ष ६ महिना अवधिमा बजेटका ६२ बुँदामध्ये २२ बुँदामा शून्य प्रगति थियो । यस वर्ष ६ महिनामा बजेटका ७३ बुँदामध्ये १२ बुँदामा मात्र शून्य प्रगति देखिएको छ । बजेट वाचमा अर्थतन्त्रसँग सम्बन्धित विषयवस्तुको मात्र अध्ययन तथा समीक्षा हुँदै आएको छ । यस वर्ष शून्य प्रगति रहेका बुँदाको हिस्सा १६ प्रतिशत हो । गत वर्ष शून्य प्रगति भएका कार्यक्रमको हिस्सा ३५.५ प्रतिशत रहेको बजेट वाचको नतिजाले देखाएको छ ।

यस वर्ष बजेटमा घोषित कार्यक्रमको पूर्ण कार्यान्वयन ७ बुँदामा भएको छ । यो कुल बुँदाको १० प्रतिशत हो । गत वर्ष यस अवधिमा ११ बुँदाको पूर्ण कार्यान्वयन भइसकेको थियो । आंशिक कार्यान्वयन भएका बुँदा यस वर्ष ५४ छन् । यो कुल हिस्साका ७४ प्रतिशत हो । गत वर्ष ६ महिनामा २९ बुँदामा मात्र आंशिक कार्यान्वयन भएको थियो । जुन ४६.८ प्रतिशत हिस्सा थियो ।

समीक्षामा वन तथा वातावरण, सार्वजनिक खरिद, विकास आयोजना, मेक इन नेपाल, स्वदेशी, नवप्रवर्द्धन, कम्पनी तथा खारेजी, ऊर्जालाई हेरिएको छ । यसैगरी प्रत्यक्ष वैदेशिक लगानी, पर्यटन, आपूर्ति, कृषि, कर, पूँजीबजार, सञ्चार, व्यापार जस्ता क्षेत्रलाई समेत अध्ययन गरिएको छ । पूर्ण सम्पन्न भएका बजेट बुँदामा जग्गाको कित्ताकाट फुकुवा गर्ने र गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा आकर्षित गर्ने उल्लेख छ । कर प्रणालीमा सुधार गर्न उच्चस्तरीय समिति गठनको विषय समेत पूरा भएको घोषणामा परेको छ ।