February 4th, 2024

६ महिनाको अवधिमा विश्वका १५५ वटा देशसँग नेपालको वैदेशिक व्यापार

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विश्वका १५५ वटा देशसँग नेपालले वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले ६ महिनाको अवधिमा १५५ वटा देशसँग वैदेशिक व्यापार गरेको देखाएको हो ।

नेपालले विश्वका डेढ सयभन्दा बढी देशसँग वैदेशिक व्यापार गर्दा उच्च व्यापारघाटा व्यहोर्दै आएको छ । निर्यातको हिस्सा कम र आयात उच्च हुँदा नेपालले वर्षेनी खर्बौं रुपैयाँ व्यापारघाटा व्यहोर्दै आएको सरकारी तथ्याङ्कले देखाउँछ ।

त्यस्तै, नोपलले ६ महिनाको अवधिमा १५५ वटा देशसँग वैदेशिक व्यापार गर्दा २७ वटासँग मात्रै नाफा कमाउन सफल भएको छ। नेपालले सो अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा नेपालबाट ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।

नेपालको निर्यातको अवस्था निकै कमजोर हुँदा व्यापारघाटाको ठूलो अन्तर छ । व्यापारघाटाको अन्तर निकै ठूलो भए पनि नेपालले केही देशहरुसँग भने उच्च नाफा कमाइरहेको छ ।

नेपालले ६ महिनामा विश्वका विभिन्न मुलुकसँग वैदेशिक व्यापार गर्दा अमेरिकाबाट उच्च नाफा कमाएको छ । नेपालले सो अवधिमा ७० करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।

नेपालले ६ महिनाको अवधिमा अमेरिकामा ८ अर्ब ३३ करोड ९९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ । त्यस्तै, सोही अवधिमा अमेरिकाबाट नेपालले ७ अर्ब ६३ करोड ६३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।

अमेरिकापछि डेनमार्कसँगको वैदेशिक व्यापार नाफामा छ । डेनमार्कमा ५० करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्दा डेनमार्कबाट २३ करोड ६५ लाख रुपैयाँको आयात गरेको छ । जसमा नेपालले २७ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।

विभागअनुसार नर्वेसँगको व्यापारमा नेपालले ६ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । सो अवधिमा ८ करोड १५ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्दा १ करोड ६७ लाख रुपैयाँको आयात गरेको छ ।

त्यसैगरी, नेपालले सोही अवधिमा माल्दिभ्ससँगको वैदेशिक व्यापारमा २ करोड ३४ लाख रुपैयाँको, लट्भियासँग १ करोड ७६ लाख रुपैयाँ, अफगाननिस्तानसँग १ करोड ४ लाख रुपैयाँ, मरिसससँग १ करोड ४ लाख रुपैयाँ र माल्टासँग ६६ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, न्यू क्यालेकडोनियाबाट नेपालले कुनै वस्तु तथा सेवा आयात नगरे पनि नेपालबाट ५८ लाख ३८ हजार रुपैयाँको निर्यात भएको छ । विभागको तथ्याङ्कमा आइसल्यान्डसँगको वैदेशिक व्यापारबाट नेपालले ५६ लाख ५२ हजार रुपैयाँ, क्रोसियाबाट ५३ लाख रुपैयाँ, मौरिटानियाबाट ४९ लाख रुपैयाँ, चडबाट ४७ लाख रुपैयाँ, जोर्जियाबाटक ३९ लाख रुपैयाँ, डोनोमिकाबाट ३८ लाख रुपैयाँ, लिबेरियाबाट ३७ लाख रुपैयाँ, सुडानबाट ३७ लाख रुपैयाँ, सिसेल्सबाट ३६ लाख रुपैयाँ र अरुबाबाट २४ लाख रुपैयाँ नाफा कमाएको छ ।

साथै, नेपालले उरुग्वेबाट ९ लाख रुपैयाँ, बरमुडाबाट ९ लाख रुपैयाँ, काजरकिस्तानबाट ८ लाख रुपैयाँ, बहामासबाट ५ लाख रुपैयाँ, पानामाबाट ४ लाख रुपैयाँ, कोलम्बियाबाट २ लाख रुपैयाँ, सिरा लिओनीबाट २ लाख रुपैयाँ, अन्टिगुवा एण्ड बरबुडाबाट २ लाख रुपैयाँ नाफा कमाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]