January 2nd, 2024

हुण्डी कारोबार र यसका जोखिमका कारणहरु ?

रबि काफ्ले

विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाइ कुनै दलाल, निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सीमार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ ।

नेपालमा हुण्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानूनी कार्य हो । अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा सुरक्षित पनि हुँदैन । कसैले थाहा पाएमा कानुन बमोजिम सजाय पनि हुन्छ । यसलाई नेपाल राष्ट्र बैंकले पनि अवैध धन भित्राउने माध्यम भनेको छ ।

अर्को शब्दमा अन्तरदेशीय मुद्रा कारोबार गर्ने अवैध तरिका हो हुण्डी । हुण्डीको कारोबार गर्नेहरुलाई दुबै देशमा एजेण्ट र सम्पर्क व्यक्ति राखेर कारोबार गरिरहेका हुन्छन् ।

मानौकी नेपालमा कोही व्यक्तीलाई तत्कालै पैसा आवश्यक परेमा अन्य देशमा रहेको मध्यस्थकर्ताले उही पैसा लिने र नेपालमा भएको मध्यस्थस्थकर्ताले नेपालमा आवश्यक व्यक्तिलाई छिनभरमै पु¥याइदिने काम गर्दछन् । विचौलियामार्फत गरिने उक्त काम एकदमै जोखिमपूर्ण रहेको छ ।

कुनै एक देशमा रही हुण्डी कारोबारीले एजेन्टमार्फत रकम संकलन गर्छन र उनीहरुको परिवारलाई तत्कालै पु¥याइदिने काम गर्छन् । रेमिट्यान्स पठाउँदा हुने सबै प्रक्रियागत झन्झटिलो भएकाले मानिसहरु हुण्डी कारोबारमा आकर्षित पनि हुन्छन् । तर यस्तो कारोबार अवैध र जोखिमपूर्ण मानिन्छ ।

हुण्डी कारोबारमार्फत विदेशबाट स्वदेशमा रकम प्राप्त भएपनि यो अत्यन्त जोखिमपूर्ण छ । खासगरी सुन तस्करी, लागुऔषध कारोबार, न्यूनविजकीकरण सामान आयात, मानव बेचविखन, अवैैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीले प्रसर्य दिइरहेको पाइन्छ । त्यसैले पनि हुण्डी कारोवारलाई अवैध र जोखिमपूर्ण मानिएको हो ।

हुण्डी कारोबार गर्नेहरुले कुनैपनि देशको कानून अनुसार रेमिट्यान्स कारोबार गर्नका लागि स्वीकृति लिएका हुँदैनन् । त्यसैले आफुले खाई नखाइ कमाएको पैसा बीचैमा हिनामिना हुनसक्ने जोखिम उत्तिकै छ । त्यसैले रकम हिनामिना भएमा गुनासो गर्ने तथा कानुनी उपचार पाउन समेत कठिन छ ।

साथै आफ्नो परिश्रमको वैध रकमलाई दलाल र विचौलियाहरुले अवैध कारोबार तथा अपराधजन्य कार्यमा लगाउने भएकाले यसलाई निरुत्साहन गर्ने भएकाले सबै व्यक्ति हुण्डी कारोबार गर्ने विषयमा सचेत हुनुपर्ने देखिन्छ ।

त्यसैले औपचारिक रेमिटान्स तथा बैंकिङ च्यानलमार्फत रकमको कारोबार गरौं । जसले मुलुकको व्यापार घाटा कम गर्न पनि यसले महत्वपूर्ण योगदान दिन्छ ।

अझ यस्ता अवैध धन्दा सञ्चालन गर्ने व्यक्ति र संस्थाको बारेमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन पनि आवश्यक देखिन्छ । यस्ता गैरकानूनजन्य अपराध नियन्त्रण गर्न हरेक विदेशिका नागरिक सजक भइ आफुले कमाएको पैसा सुरक्षित गर्ने तर्फ ध्यान दिनु जरुरी छ ।

काफ्ले सिटिजन्स बैंक, बुटवल कालिकानगरमा आवद्ध हुनुहुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]