
बैंकिङ खबर/लुम्बिनी विकास बैंकले बल्खु, काठमाडौंमा रहेको बयोधा अस्पतालसँग छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकका कर्मचारी एवम् डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ताहरुलाई विभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १०% देखि १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सुविधा बयोधा अस्पतालको बल्खु, काठमाडौंस्थित मुख्य कार्यालयबाट प्राप्त गर्न सकिने छ । सम्झौतामा उल्लेख भए अनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा. अरबिन्द कुमार साहले हस्ताक्षर गरेका थिए ।
लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।




