October 5th, 2023

क्यान र आईएमई पे बीच रणनीतिक साझेदारी

बैंकिङ खबर/ नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) बीच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुरूप आईएमई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको लागि नेपाल क्रिकेट संघले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ ।

सम्झौता लागू भएसँगै आउँदो २ वर्षको समय अवधिमा नेपाल क्रिकेट संघले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाईन टिकेटको बिक्रीको जिम्मेवारी पनि आईएमई पेले पाएको छ।

राजधानीमा बिहीबार सम्पन्न एक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। पत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका छन् ।

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता रहेको छ। सोही आवश्यकता महसुस गरी यो समझदारी भएको हो ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले, आईएमई पेसँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए । यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए । यसैगरी आईएमई ग्रुपले क्रिकेटर करन केसी र सोमपाल कामीलाइ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]