
श्री नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
बोधार्थ : नेपाल राष्ट्र बैंक
ध्यानाकर्षण सम्बन्धमा
कोट पाइन्टमा ढल्कदै एसीमा बसेर मज्जाले आफ्नो जिम्मेवारी बहन गर्ने आत्मिय रहरसँगै उत्साहित हुँदै प्रायले बैंकमा आफ्नो पेशा सुरुवात गर्दछन् । आज झण्डै ९० हजार कर्मचारीले नेपालमा बैंक तथा वित्तीय संस्थामा काम गर्दै आइरहेका छन् । विगतदेखि नै तल्लो तहका बैंक कर्मचारीहरु माथिल्लो तहका बैंकका कर्मचारीबाट कुनै न कुनै बहानामा पेलिएका छन् ।
सोही कारणले आज अधिकांश बैंकर आफ्नो पेशालाई बिट मार्दै फरक पेशा अंगाल्न आतुर देखिन्छन् । बैंकको जागिर छोडेर विदेशिने संख्या बढ्दो देखिन्छ । अत्यधिक अनावश्यक टर्चरले गर्दा केही कर्मचारीहरुको स्वास्थ्य अवस्थासम्म बिग्रेको बताउँछन् । आज मानसिक तनाव मात्र होइन, मानसिक तनावले आत्महत्या गर्ने प्रयाससम्म पुगेका छन् ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका एक म्यानेजर त्रिशुली नदीमा हाम फालि बेपत्ता भएका छन् । हाम फाल्नुको प्रमुख कारण माथिल्लो तहको कर्मचारीबाट दिइएको तनावले भन्ने छ । के अब ऋणीले ऋण लगेर तिर्न नसके कर्मचारीले मानसिक तनाव खेपिरहनुपर्ने हो त ? के शाखाको टार्गेट नपुगेकै भरमा मानसिक तनाव खेपी रहनुपर्ने हो त ? तनाव झेलिरहेको कर्मचारीले मुस्कानसहितको सेवा देलान त ? यस्ता प्रश्न आम बैंकरको मनमा खेली रहेका छन् ।
ततः सम्बन्धमा तपाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई माथिल्लो तहका कर्मचारीबाट दिइने मानसिक तनाव बारे गहन अध्यन गरी त्यस्ता आत्महत्या दुरुत्सान गर्न हातमा हात लगाएका कर्मचारीलाई हदैसम्मको कारबाही गर्न अनुरोध गर्दछु ।
बैंक एउटा त्यस्तो संवेदनसिल क्षेत्र हो जहाँ आम नागरिकले आफ्नो सम्पूर्ण चल तथा अचल सम्पत्ति राखेका हुन्छन् । मुस्कानसहितको सेवा प्रहाव गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तनावमा भए के उचित ग्राहक परामर्श होला ? के बैंकप्रति सकारात्मक विचार बन्ला त ?
वित्तीय क्षेत्र विना मुलुकको परिकल्पना पनि गर्न सकिँदैन । तसर्थ, उक्त क्षेत्रमा कार्यरत कर्मचारीलाई दीर्घकालीन रुपमा टिकाई राख्न अनुसन्धनात्मक कदम चालियोस् । बैंक कर्मचारी सडक आन्दोलनमा उत्रने अवस्था सृजना नबनोस् । खुसी, सुखी र आकर्षित पेशाको रुपमा यस क्षेत्रको उचाई बढाउनेतर्फ कदम चालियोस् साथै उत्प्रेरित गर्दै पुनः काममा फर्कने वातावरण सृजना गरियोस् ।
धन्यवाद
कृष्ण बाबू घिमिरे
(बैंकर)



