Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१७ सय अंकबाट झर्यो नेप्से : सबै समूहमा दोहोरो अंकको गिरावट, ११ कम्पनीका सेयरधनीले कमाए 

२०७३ कार्तिक २४ गते
सेयर:

stockबुधबार सेयर बजार २७.६३ अंकले घटेर १६९६.८६ अंकमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्जमा पौने ६९ करोडको कारोबार भएको छ । दिनभरिमा एक सय २७ वटा कम्पनीको १० लाख २२ हजार छ सय ९२ कित्ता सेयर चार हजार पाँच सय १७ पटक खरिदविक्रि हुँदा ६८ करोड ७३ लाख ५० हजार छ सय १३ रुपैयाँको कारोबार भएको हो । 

कारोबार भएका सबै समूह दोहोरो अंकले घटेपछि समग्र बजार नै प्रभावित भएको देखिन्छ । सबैभन्दा धेरै बीमा समूह १५८.८६ अंकले घटेको छ भने होटल ६३.७५ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः २४.७, ३५.९, ३७.५, १० र ११.२८ अंकले घटेका छन् । 

कारोबारका आधारमा बुधबार सिभिल बैंकको अग्रस्थानमा छ, जसको तीन करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट बैंक र भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको तीन करोड ६० लाख भन्दा माथिको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको कम्पनीको तीन करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ भने बैंक अफ काठमाण्डू लुम्बिनीको दुई करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्सको दुई करोड ६९ लाख रुपैयाँको कारोबार हुँदा मुक्तिनाथ विकास बैंकको एक करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुमारी बैंक र नेपाल लाइफ इन्स्योरेन्सको पौने दुई करोडको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको एक करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

बुधबार जम्मा ११ वटा कम्पनीका लगानीकर्ताले अधिकतम ७.७६ प्रतिशतदेखि न्युनतम ०.३१ प्रतिशतसम्मले आफ्नो सम्पत्ति बढाएका छन् । सृजना फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने कन्काई विकास बैंकका सेयरधनीले सबैभन्दा थोरै कमाएका छन् । एनबि इन्स्योरेन्स, रिडि हाइड्रोपावर, नमस्ते वित्तीय संस्था, राप्तीभेरी विकास बैंक, तिनाउ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, लुम्बिनी फाइनान्स र सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा बुधबार मुक्तिनाथ विकास बैंक छ, जसका सेयरधनीले ७.९७ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । वेस्टर्न डेभलपमेन्ट बैंक, विजय लघुवित्त, ङादी ग्रुप पावर, लक्ष्मी लघुवित्त, रुरल माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, वोमी माइक्रोफाइनान्स, सगरमाथा फाइनान्स, किसान माइक्रोफाइनान्स र जनउत्थान सामुदायिक लघुवित्तका सेयररधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

सेयर बजारमा मात्र हैन यति बेला विश्व अर्थतन्त्र नै प्रभावित बनेको अवस्था छ । सबैको अनुमान विपरीत डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि विश्व सेयर बजार नै खस्किएको छ । त्यसमाथि, भारतीय ५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाइएपछि त्यसको प्रभाव पनि नेपाली सेयर बजारमा देखिएको छ । यसको प्रभाव लामौ समयसम्मै देखिने सम्भावना छ ।