२०८० भाद्र २४ गते

वित्तीय साक्षरता : दिगो बैंकिङ र अर्थतन्त्रको आधारस्तम्भ


खडक रोकाया

नियामक नेपाल राष्ट्र बैंक र वित्तीय क्षेत्रको अहिलेको एउटै लक्ष्य वित्तीय शिक्षामार्फत आम जनतालाई वित्तीय रुपमा साक्षर बनाउने र दिगो बैंकिङ्गलाई प्रवद्र्धन गरी समृद्ध नेपालको सपना पाकार पार्ने रहेको छ । नीतिगत तहमा नियामक र कार्यगत तहमा वित्तीय क्षेत्र यसमा लागि परेको छ । कतिपय बैंकहरुले वित्तीय साक्षरता वर्ष घोषणा गरेर वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन ।

वित्तीय साक्षरतालाई बैंक खाता, डिम्याट खाता र कर्जा संख्या र जनसंख्याको अनुपातको आधारमा मात्रै हेर्दा वित्तीय साक्षरता प्रतिशत धेरै देखिन्छ तर वित्तीय साक्षरता आफैमा बृहत र ब्यापक छ ।

वित्तीय साक्षरतालाई पनि औपचारिक शिक्षाको जस्तै गरि हेर्ने हो भने नर्सरीदेखि प्रोफेसरसम्म तहगत रुपमा हेर्न सकिन्छ । पारिवारिक मासिक खर्च आम्दानीको बजेट निर्माणदेखि बचत, बैंकिङ्ग कारोबार, डिजिटल कारोबार, विप्रेषण, बीमा, जोखिम व्यवस्थापन, पुँजी निर्माण, लगानी, लगानी विविधिकरण, उद्यमशीलता लगायत मानवीय समृद्घिको सम्पूर्ण पाटोलाई वित्तीय साक्षरताले समेटेको हुन्छ ।

दिगो आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि अर्थतन्त्रका सबै संवाहकहरुले दिगो आर्थिक विकासको लक्ष्यसँग आफ्नो लक्ष्यको तालमेल गर्नुपर्ने हुन्छ । हाम्रो अर्थतन्त्र धेरै नै संवेदनशील छ ।

खुला सीमा, बिचलित राजनीति, आयात र विप्रेषण निर्भर अर्थतन्त्र, समानान्तर अनौपचारीक अर्थतन्त्र, फितलो तथ्यांक प्रणाली, असमान वितरण प्रणाली, कमजोर संस्थागत सुशासन इत्यादी । त्यसैले सामान्य गडबडीमा पनि अर्थतन्त्र थला परेजस्तै हुन्छ । अहिले त विश्व अर्थतन्त्र नै मन्दीमा गएको बेला छ । विश्वका ठूला अर्थतन्त्रलाई नै पनि उच्च मुद्रास्फिति र उच्च व्याजदरसँग जुध्नुपरेको छ ।

नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आयात र विपे्रषणमै निर्भर छ । नियामकले तोकिदिएका केहि बाध्यात्मक प्राथमिकता क्षेत्रहरु बाहेक वित्तीय क्षेत्र पनि आयात र विप्रेषणकै वरिपरि घुमेको छ जुन अल्पकालिन मात्रै छ दिगो छैन ।

उद्यमशीलता विकास नभएसम्म दिगो बैंकिङ्ग सम्भव छैन र उद्यमशीलता विकासका लागि पुजी निर्माण तथा परिचालन र पुजी निर्माण तथा परिचालनका लागि वित्तीय साक्षरता अपरिहार्य छ ।

विप्रेषण थोरैले घट्यो भने तरलता संकट आउँछ, तरलता संकटले आयात रोक्न बाध्य गराउँछ । आयात रोकिँदा वित्तीय क्षेत्रको व्यापार ठप्पप्राय हुन्छ । व्यापार रोकिँदा अर्थतन्त्र शिथिल बन्छ यस अर्थमा पनि वित्तीय साक्षरता समस्याग्रस्त अर्थतन्त्रको दिगो समाधान हो ।

वित्तीय साक्षरताले कसरी काम गर्छ त ?

सामान्य स्तरको वित्तीय साक्षरता

बचत

आम्दानीबाट खर्च कटाएर बचेको रकमलाई बचतको रुपमा लिइन्छ । वित्तीय साक्षरताले आम्दानीबाट पहिला बचत गरेर खर्च गर्न सिकाउँछ । आवश्यक खर्चहरुमात्र गरी फजुल खर्च रोक्न र बचतको महत्व के हो भन्ने कुरा सिकाउँछ । आजको सानो बचतले भोलीको आर्थिक संकटसँग जुध्न र पुँजी निर्माण गरी साना ठूला काम गर्ने आधार तयार गर्छ ।

बीमा

बीमाले बचत र जोखिम दुबै पक्षलाई समेट्छ । घरको मुलि मान्छेको बीमा गर्दा आश्रित परिवारलाई सुरक्षा हुन्छ । भविष्यको अनपेक्षित घटनाहरुसँग जुध्न र आश्रित परिवारको शिक्षा, स्वास्थ्य तथा जीवनस्तरमा नकारात्मक असर पर्न नदिन बीमा आवश्यक छ । अहिले स्वास्थ्य बीमाले पनि स्वास्थ्य उपचारमा लाग्ने ठूलो खर्चलाई व्यवस्थापन गर्न मद्दत्त पुग्छ । वित्तीय साक्षरता अभियानमार्फत यो कुरा सर्वसाधारणलाई सिकाउन जरुरी छ ।

विप्रेषण

लाखौं नेपाली वैदेशिक रोजगारका लागि विदेश जान्छन् र कमाएको रकम नेपालमा पठाउँछन् । सो रकमको आधाभन्दा बढी हिस्सा सामान्य उपभोग र विलाशिताका बस्तु तथा सेवामा खर्च हुन्छ । विप्रेषणबाट आएको रकमको सही सदुपयोग हुन सकेको छैन ।

कतिपय व्यक्तिहरु हुण्डी र अन्य गैरकानूनी माध्यमबाट विप्रेषण गर्दा ठगिएका छन् । अहिले बचत तथा मुद्दती खातामा थप ब्याज र सेयरको प्राथमिक निष्कासनमा आरक्षणले केहि सुधार भएको छ यसमा थप सुविधा र वित्तीय साक्षरताको भुमिका अहम् रहन्छ ।

सुरक्षित बैंकिङ्ग

मनि लन्डरिङ्ग र प्रविधिमा आधारित बैंकिङ्गभित्रको जाखिम अहिलेको प्रमुख चुनौती हो । गैरकानूनी आर्जनलाई वैध बनाउन बिभिन्न ब्यक्तिहरुको प्रयोग हुन सक्छ जुन अर्थतन्त्र र समाजका लागि घातक हुन जान्छ ।

त्यस्तै प्रबिधिमा आधारित बैंकिङ्ग सुविधाहरुको प्रयोगमा लाखौं व्यक्ति अहिले ठगिइरहेका छन । आफ्नो व्यक्तिगत विवरण अन्जान वा नचिनेको व्यक्तिलाई दिँदा आफ्नो दुःखले आर्जेको रकम चोरी भइरहेको छ । यी सब कुराबाट सुरक्षित रहन वित्तीय साक्षरताले सिकाउँछ ।

कर्जाको सदुपयोग

एउटाले दुःखजेलो गरी कमाएको र बचत गरेर आएको रकमलाई केहि गर्छु र निश्चित समयावधीमा व्याजसहित फिर्ता गर्ने शर्तमा बैंकबाट सापट लिएको रकम ऋण अथवा कर्जा हो ।

कर्जाको दुरुपयोग दण्डनीय हुन्छ । जुन उद्देश्यका लागि कर्जा लिएको हुन्छ सोहि प्रयोजनमा खर्च गर्नु र शर्तअनुसार तिर्दै जानु ऋणीको दायित्व हो । कर्जाको दुरुपयोगले ऋणी व्यक्ति र वित्तीय संस्था दुवैलाई नोक्सान हुन्छ जसले अर्थतन्त्रमा नकारात्मक असर गर्छ । कर्जाको सही सदुपयोग गरी कुल ग्राहस्थ उत्पादनमा योगदान दिन वित्तीय साक्षरताले भूमिका खेल्न सक्छ ।

कालोसूची

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार कालोसूचीमा पर्नेको संख्या एक वर्षमा दोब्बर भएको छ । समयमै आफ्नो दायित्व पूरा नगर्दा लाभग्राही पक्षले कालोसूचीको लागि अनुरोध गर्छ र पहिलो पक्ष कालोसूचीमा राखिन्छ । मौज्दात विनाको चेक अनादर, समयमै कर्जा भुक्तानी नगर्ने र करार अनुसारको अन्य कुनै कार्य सम्पन्न गर्न नसक्दा कालोसूचीमा पर्नेको संख्या बढेको छ । कालोसूची पर्ने प्रक्रिया र यसका कानूनी बेफाइदाहरु वित्तीय साक्षरताले समेट्नुपर्ने विषय हो ।

सहुलियतपूर्ण कर्जा र उद्यमशीलता

उद्यमशीलताको विकास गरी आन्तरिक उत्पादन र आयस्तर बढाउन विभिन्न शिर्षकहरुमा सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिएको छ । जुन कर्जामा थोरै अर्थात् आधा मात्रै व्याज लाग्छ । केहि गर्न पुँजीको अभावमा रहेका व्यक्तिहरुलाई लक्षित गरी दिइने कर्जाको उत्पादकत्व बढाउन, विधि र प्रक्रिया बुझाउन साथसाथै उद्यमशीलता विकास गर्न वित्तीय साक्षरताको महत्वपूर्ण भूमिका रहन्छ ।

विभिन्न क्षेत्र विशेष र वर्ग विशेषका लागि पनि फरक तरिकाले वित्तीय साक्षरता सञ्चालन गर्न सकिन्छ । विद्यार्थी, गृहणी, किसान, कर्मचारी, बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरु, ब्यापारी तथा स्वरोजगार भई काम गरिरहेका सबैलाई फरक शैलीमा बित्तिय रुपमा साक्षर गर्नु दीगो अर्थतन्त्रको आधारस्तम्भ हुनेछ ।