July 21st, 2023

आइएमई पेमा अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्दा उपहार पाइने

बैंकिङ खबर/ आइएमई पेले ‘रेमिट्यान्समा उपहारको बहार’ नामक नयाँ योजना ल्याएको छ । कम्पनीले अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई लक्षित गर्दै यो अभियान सुरु गरेको हो ।

साउन महिनाको अन्त्यसम्म चल्ने योजनामा विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहकमध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्ट फोन उपहार पाउने जनाइएको छ । साथै, अफरको अन्त्यमा एकजना भाग्यशाली ग्राहकलाई बम्पर उपहारस्वरूप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरूको पुरस्कार वितरणको तस्बिर तथा भिडियो आइएमई पेको सामाजिक सञ्जालमा प्रकाशन गरिने उल्लेख छ ।

योजना ग्राहकलाई विद्युतीय माध्यममार्फत सहजै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गरी विद्युतीय भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यका साथ सुचारु गरिएको कम्पनीको भनाइ छ । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टमार्फत विभिन्न किसिमका भुक्तानी कार्यहरू गर्न सक्ने जनाइएको छ ।

यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।