July 17th, 2023

नयाँ आर्थिक वर्षमा नयाँ ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ?

बैंकिङ खबर/ बैंकहरूले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक ब्याजदर नीति अनुसार मसान्त अघि नै नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकको नीति बमोजिम वाणिज्य बैंकहरूले आइतबार नै नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

आउँदो महिना नयाँ आर्थिक वर्ष २०८०/८१ को सुरुवाति महिना समेत भएकाले घट्दो ब्याजदरमा आर्थिक वर्ष सुरुवात हुने भएको छ । गत बिहीबार बसेको बैंकर्स संघको बैठकले आगामी महिनाका लागि खुल्ला ब्याजदर नीति (ब्याजदर तोक्ने अधिकार बैंकहरूलाई नै) दिने निर्णय गरेको थियो । ब्याजदरको विषयमा बैंकहरूले मिलेर कार्टेलिङ गरेको भन्दै चौथर्फी विरोध भएपछि संघ ब्याजदरको विषयमा खुल्ला नीतिमा जान बाध्य भएको हो ।

सोही खुल्ला नीति अनुरूप बैंकहरूले आगामी महिनाका लागि निक्षेपमा न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

कुनको कति ?

सबैभन्दा बढी एनएमबि बैंकले ब्याजदर दिने भएका छ । बैंकर्स संघको अध्यक्षता समेत गरिरहेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीको बैंक ‘एनएमबि’ ले साउन महिनाका लागि निक्षेपमा १०.९८ प्रतिशत ब्याजदर अफर गरेको हो । यो असार महिनाका लागि वाणिज्य बैंकहरूले कायम गरेको ब्याजदरभन्दा ०.९९ प्रतिशत (झण्डै) १ प्रतिशतले बढी हो ।

यसअघिसम्म भद्र सहमतिका नाममा ब्याजदरमा कार्टेलिङ गरिरहेका बैंकहरूले असारका लागि न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ९.९९ प्रतिशत ब्याजदर कायम गरेका थिए । तर, साउनदेखि बैंकहरूले आफ्नो ब्याजदर आफै तोक्ने पाउने व्यवस्था हुँदै गर्दा अधिकांश बैंकहरूले ब्याजदर घटाउँदै गर्दा एनएमबि बैंकसहति ४ वटा बैंकहरूले ब्याजदर बढाएका छन् ।

प्राइम कमर्सियल बैंक

ब्याजदर वृद्धि गर्नेमा दोस्रो नम्बरमा प्राइम कमर्सियल बैंक परेको छ । बैंकले साउन महिनाका लागि निक्षेपको नयाँ १०.९३ प्रतिशत तोकेको छ । यो चालु असार महिनाको ब्याजदर भन्दा ०.९३ प्रतिशतले बढी हो । आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको औसत आधारदर (बेस रेट ) १०.८४ प्रतिशत रहेको छ । बैंकले कर्जा लगानी यसै बेस रेटमा २ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम चार्ज गर्ने जनाएको छ ।

नबिल बैंक

नबिल बैंकले आउँदो साउन महिनाका लागि निक्षेपमा १०.४९ प्रतिशत ब्याजदर अफर गरेको छ । असार महिनाका लागि बैंकहरूले मिलेर निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर कायम गरेकामा स्वतन्त्रतापूर्वक साउन महिनाका लागि नबिल बैंकले न्यूनतम ८.४९ प्रतिशतदेखि अधिकतम १०.४९ प्रतिशत ब्याजदर तोकेको हो ।

कुमारी बैंक

कुमारी बैैंकले साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७.५१ प्रतिशतदेखि १०.०१ प्रतिशत नयाँ ब्याजदर प्रस्ताव गरेको छ । यो असार महिनाको भन्दा जम्मा ०.०२ प्रतिशतले मात्र बढी हो ।

५ वटा वाणिज्य बैंकको ब्याजदर स्थिर

यद्यपि, ५ वटा वाणिज्य बैंकहरूले भने साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक (हालै मात्र मर्जर भएको), नेपाल एसबीआई बैंक, हिमालय बैंक र सिटिजन बैंकले साउनका लागि पनि हाल कायम ब्याजदर नै प्रदान गर्ने निर्णय गरेका हुन् ।

हाल बैंकहरूले संस्थागत निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् भने व्यक्तिगत निक्षेप खातामा ९.९९ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् । यी बैंकहरूको औसत बेस रेट १०.९० प्रतिशत रहेको छ ।

९ वटा बैंकको ब्याजदर घट्यो

तर, यता ९ वटा वाणिज्य बैंकहरूले भने साउन महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । सानिमा बैंक, एभेरेष्ट बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंकसहित तीनवटा सरकारी स्वामित्वका बैंकहरू कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक रहेका छन् ।

साउन महिनाका लागि सानिमा बैंकले निक्षेपमा न्यूनतम ७.५२ प्रतिशतदेखि अधिकतम ९.५२ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ भने कृषि विकास बैंकले ९.५१ प्रतिशत, एभरेष्ट बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले समान ९.५ प्रतिशत तोकेका छन् ।

यसैगरी माछापुच्छ्रे बैंकले साउन महिनाका लागि न्यूनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशत ब्याजदर तोकेकोमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले निक्षेपमा समान ६.९९ प्रतिशतदेखि ८.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

साउनका लागि सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपमा ६.९५ प्रतिशतदेखि ८.९५ प्रतिशत मात्र ब्याजदर दिने बताएको छ । यो हाल कायम ब्याजदर भन्दा १.०४ प्रतिशतले कमी हो ।

समग्रमा ब्याजदरमा खुल्ला नीति अवलम्बन भएपछि बैंकहरूले साउन महिनाका लागि तोकेको ब्याजदरको अन्तर २.०३ प्रतिशतले देखिएको छ । यसले निक्षेपकर्ताहरूका लागि पैसा राख्न एनएमबि, प्राइम कमर्सियल, नबिल र कुमारी बैंक उत्तम देखिएको छ । तथापि, कर्जातर्फ भने बैंकहरूले आफ्नो बेस रेटमा चार्ज गर्ने प्रिमियममा भरपर्ने हुँदा अवश्य पनि सबैभन्दा कम ८.२४ प्रतिशत मात्र बेस रेट भएको वाणिज्य बैंक सस्तो पर्न सक्छ । परिवर्तित नयाँ ब्याजदर सोमबार अर्थात् साउन १ गतेदेखि कार्यान्वयनमा आएको छ ।