Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हुलाक बचत बैंक बझाङका निमित्त प्रमुख र नासु भ्रष्टाचार मुद्दामा दोषी ठहर

२०८० असार २१ गते

बैंकिङ खबर/ विशेष अदालतले हुलाक बचत बैंकको रकम हिनामिना गरेको अभियोगमा जिल्ला हुलाक कार्यालय बझाङका निमित्त प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीशहरु शालिकराम प्रसाद कोइराला तथा खुशीप्रसाद थारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। विशेषले उनीहरुलाई सजाय भने पछि निर्धारण गर्ने फैसलामा भनेको छ।

उनीहरुले सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्व विपरीत लापरबाही एवं बदनियतपूर्ण रुपमा सार्वजनिक कोषको दुरुपयोग गरी सरकारी रकम निजी प्रयोजनामा खर्च गरेको दाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले निमित्त प्रमुख कडायतलाई २ करोड ९४ लाख ८९ हजार ९ सय विगो दावी गरेको थियो। नासु उपाध्यायलाई दुई करोड २४ हजार ८ सय ६९ रुपैयाँ बिगो दाबी गरेको थियो। अख्तियारले बिगो अनुसार जरिवाना पनि माग गरेको थियो।

बिगो कायम गरी दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम कैद सजायको माग अख्तियारले गरेको थियो। दोषी ठहर भएका उनीहरुलाई कति सजाय हुने वहस अर्को पेसीमा हुने भएको छ। तीन वर्षभन्दा धेरै कैद हुने देखिएमा पछि सजाय निर्धारण हुने कानुनी व्यवस्था छ।