Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

उद्यमशिलता विकासका लागि बहिरा व्यक्तिहरुलाई वित्तीय साक्षरता

२०८० असार २ गते

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ रातोपुलको आयोजनामा बहिरा व्यक्तिहरुलाई उद्यमशिलता विकासका लागि वित्तीय साक्षरता प्रदान गरिएको छ ।

काठमाडौंमा शनिबार भएको कार्यक्रममा नेपाल राष्ट्रिय वाणिज्य बैंकका उप–प्रबन्धक सुर्यकृष्ण चौलागाईंले उद्यमशिलता विकासका बारेमा कार्यपत्र प्रस्तुत गर्दै उद्यमी सर्जक र उद्यमशिलता सिर्जना भएको बताए ।  उनले उद्यमी कसरी बन्ने भन्ने विषयमा जानकारी गराएका थिए । बहिरा उद्यमीहरुको बारेमा उदाहरणसहित भिडियो प्रस्तुत गर्दै उनले बहिरा व्यक्तिहरु पनि उद्यमशिलतातर्फ लाग्नुपर्नेमा जोड दिए । उनले ब्याज अनुदानसहितको सहुलियत कर्जाका बारेमा जानकारी गराएका थिए ।

नेपाल राष्ट्रिय वाणिज्य बैंकका उप–प्रबन्धक लाम्पा दिक्की शेपाले वित्तीय साक्षरता तथा उद्यमशिलता विकासबारे कार्यपत्र प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थामा पैसा राख्दा हुने फाइदाका बारेमा जानकारी गराएकी थिइन् । उनले पछिल्लो समय अनौपचारिक तथा अर्धअनौपचारिक निकायमा बचत राख्दा धेरै जनाको बचत डुबेको भन्दै बैंकिङ च्यानलबाट मात्र कारोबार गर्न आग्रह गरिन् ।

उनले बचत गर्ने बानीको विकास कसरी गर्ने ?, भन्ने विषयमा जानकारी दिँदै आफ्नो कमाइको केहि रकम बचतमा छुट्याउन आग्रह गरिन् । उनले बजेट र पारिवारिक बजेटका बारेमा जानकारी गराउँदै खर्चको प्राथमिकीकरण गर्दै जानुपर्ने बताइन् । आम्दानी भन्दा खर्च कम छ भन्नेमा आफु निश्चितता हुनुपर्ने उनको जोड थियो । उनले बैंकिङ ठगीबाट बच्न सबैमा आग्रह समेत गरिन् । चेक बाउन्स भएका के गर्ने भन्नेमा  जानकारी समेत गराएकी थिइन् ।

राष्ट्रिय वाणिज्य बैंकका वरिष्ठ सहायक आयुसा वाग्लेले डिजिटल बैंकिङको विषयमा कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय बैंकिङ क्षेत्र डिजिटलतर्फ गएको भन्दै यसबाट समयको बचत र छिटो छरितो हुने गरेको बताइन् । नेपालका कोभिडपछि डिजिटल बैंकिङ फस्टाएको उनको भनाइ छ । उनले मोबाइल बैंकिङ तथा साइवर सुरक्षाबाट जोगिने तरिकाका बारेमा समेत जानकारी गराएकी थिइन् ।

कार्यक्रममा राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघकी अध्यक्ष लक्ष्मी देवकोटाले बहिरा व्यक्तिहरुका लागि यो कार्यक्रम पहिलो पटक भएको भन्दै सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले बहिरा व्यक्तिहरुले पनि उद्यमशिलता र बैंकिङ क्षेत्रसँग जानकार हुनुपर्ने बताइन् ।

कार्यक्रममा सहभागीहरुले बैंकले सहुलियत कर्जा दिँदा बहिरा व्यक्तिहरुलाई प्राथमिकता दिनुपर्ने, बैंकमा बहिरा व्यक्तिहरु जाँदा खाता खोल्न लगायत अन्य कामहरुमा सहयोग गर्नुपर्ने र कर्जामा पनि व्याजदर केहि कम हुनुपर्नेमा जोड दिएका थिए ।