बैंकिङ खबर/विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरी १२ जनाको नाममा खाता खोलेर कारोबार गरेको पाइएको हो।
उनले सट्टेबाजहरुको मुख्य एजेन्टका रुपमा आफूलाई सक्रिय बनाएको पनि पाइएको छ । सट्टेबाजका रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले जानकारी दिए । उनका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टका रुपमा सक्रिय अन्य चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। पक्राउ पर्नेमा दिपेश खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशीष लामिछाने छन्। उनीहरुले सट्टेबाजमा ७४ करोड १३ लाख कारोबार गरेको पाइएको छ।
आशीषले तीन करोड कारोबार गरेको फेला परेको छ। दिपेशले पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा केसीले बताए। उनका अनुसार आशीषको साथबाट प्रहरीले ३७ लाख बरामद गरेको छ। उनीहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। कार्यालयले बरामद सामग्रीसहित उनीहरुलाई बुधबार सार्वजनिक गरेको हो। उनीहरुले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ ।