June 8th, 2023

बजेटले निजी क्षेत्र उत्साहित देखिएन : विनोद चौधरी

बैंकिङ खबर/नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले बजेटले निजी क्षेत्रमा उत्साह भर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले करको दायरा बढाउनेतर्फ बजेट केन्द्रित भएको, पहिलेदेखि नै संघर्ष गरिरहेका उद्योग, ब्यापार, पर्यटन क्षेत्रमा घुमाउरो शीर्षक अन्तर्गत थपिएका करहरुले अर्थतन्त्रको विस्तारमा सहयोग नपुग्ने टिप्पणी गरे ।

‘निजी क्षेत्रको मनोबल उच्च बनाएर मात्रै अर्थतन्त्रको विस्तार हुन सक्छ तर अहिले निजी क्षेत्र उत्साहित देखिएको छैन’ उनले भने ‘अर्थतन्त्रको बृहत्तर विस्तारबाट नै राजश्वको आकारलाई पनि बढाउन सकिन्छ । नेपाल यसै पनि दक्षिण एसियामा सबैभन्दा उच्च कर (जीडीपीको २४ प्रतिशत) भएको मुलुक हो ।’ बजेटले यो पटक नयाँ दिशा लिन सक्ने अपेक्षा गरिए पनि सो अनुसारको बन्न नसकेको उनले बताए । ‘उद्योग व्यवसायमा थप कर वृद्धि गर्दै जानु भनेको हाम्रा उत्पादनलाई प्रतिस्पर्धाविहीन अवस्थातर्फ धकेल्नु पनि हो’ उनले भने ।

किसानले खेतीका लागि रासायनिक मल खोज्दा पनि नपाउने अवस्था रहेको भन्दै उनले किसानलाई मागअनुसारकै मल पाउने व्यवस्था मिलाउन माग गरे । ‘अहिले पनि किसानको आवश्यकताको २५ प्रतिशत मात्रै रासायनिक मल उपलब्ध गराउन सक्ने अवस्था छ’ उनले भने ‘बजेटमा हरित अर्थतन्त्र, दिगो विकासको मन्त्र भन्ने नारा त दियौं तर त्यो नारा सफल पार्ने जिम्मेवारीमा रहेका किसानलाई कहिल्यै मलसम्म दिन सकेनौं । जब धान रोप्ने बेला सुरू हुन्छ सरकार रासायनिक मलको खोजीमा हतारिइरहेको अवस्था देखिन्छ ।’

देशले वार्षिक रुपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा ब्याजभन्दा हाम्रो विकास बजेटको अंश सानो हुन थाल्नु अर्थतन्त्रका लागि अर्को गम्भीर सूचक रहेको उनको भनाइ छ । अर्थतन्त्रलाई अर्को तहमा पु¥याउन जलविद्युत्को निर्यात र पर्यटन प्रवर्द्धन नै महत्त्वपूर्ण रहने चौधरीले बताए

सन् २०२३ का पाँच महिनामा चार लाख पर्यटक भित्रिएको तथ्य सकारात्मक रकारात्मक रहेको औंल्याउँदै उनले छिमेकी मुलुक भारत र चिनसँग हाम्रो कुटनीतिलाई प्रभावकारी बनाउने हो भने आगामी ५ वर्षमा नेपालमा ५० लाख पर्यटक भित्र्याउन सकिने दाबी गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]