
बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणमा बजेट तर्जुमा दिग्दर्शनमा उल्लेखित पदाधिकारी मात्रै बसेर करका दर निर्धारण गरिएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सदस्यहरुले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताबारे उठाएको जिज्ञासामा उहाँले आधिकारिक व्यक्ति मात्रै बसेर करका दरलाई वैज्ञानिक बनाइएको बताए ।
उनले गोप्य कोठामा आधिकारिक व्यक्तिमात्र बसेर करका दर बढाउने, घटाउने र हेरफेर गर्ने निर्णय गरिएको बताए ।
आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढङ्गबाट काम गरेको उल्लेख गर्दै उनले प्रभावबाट मुक्त भएर काम गर्छु भनेर मन्त्रालय छिरेको बताए ।
बजेट निर्माणमा आवश्यक सहयोगीका सम्बन्धमा आफू मन्त्रालयमा आउनुभन्दा नै अगाडि निर्णय भइसकेको उनले प्रस्ट्याए । गोप्यरुपमा, छोटो समयमा काम गर्नुपर्ने र टाइप गर्नका लागि आवश्यक सहयोगी चाहिने उनको भनाइ छ । सहयोगीको आफूसँग कुनै कुनै चिनजान नरहेको पनि उनले जानकारी गराए ।



