Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

रेमिट्यान्स बढ्यो, विदेशी लगानी घट्यो

२०८० जेष्ठ ४ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको नौ महिना अर्थात् चैत महिनामा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान तथा आर्थिक वित्तीय स्थितिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई रु.९०३ अर्ब ३९ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।

चैत महिनामा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई रु.९९६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो । 

यता चालू आर्थिक वर्ष २०७९/०८० मा १२ खर्ब ३१ अर्ब रेमिट्यान्स भित्रिने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले  सार्वजनिक गरेको प्रक्षेपणअनुसार आर्थिक वर्षमा १२ खर्ब ३१ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिने देखिएको हो। जुन कुल गार्हस्थ्य उत्पादनको २२.८९ प्रतिशत हुनेछ।

घट्यो वैदेशिक लगानी 

वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तको तुलनामा वैशाखमा विदेशी लगानी ह्वात्तै घटेको हो ।

चैत महिनामा विभिन्न क्षेत्रमा ७ अर्ब ५५ करोड १८ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाइएको थियो । वैशाख महिनामा घटेर १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाइएको विभागको तथ्यांक छ ।

चालु आथिर्क वर्षको साउन महिनामा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ, भदौमा ३ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ, असोजमा १ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ, कात्तिकमा ३ अर्ब ६५ करोड रुपैयाँ, मंसिरमा ८० करोड ८० लाख रुपैयाँ, पुसमा ४ अर्ब ८५ करोड २० लाख रुपैयाँ, माघमा १ अर्ब ३९ करोड रुपैयाँ र फागुन महिनामा १ अर्ब ९२ करोड ९० लाख रुपैयाँ विदेशी लगानीकर्ताले प्रतिबद्धता जनाएका थिए ।

विभागको तथ्यांकअनुसार वैशाख महिनामा सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट(एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) सहित नयाँ उद्योग गरी विदेशी लगानीकर्ताले २ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

वैशाखमा २८ वटा नयाँ उद्योग दर्ता भई १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । त्यसबाहेक अन्य ७ वटा उद्योगमा १ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ लगानी एसपीए, एसएसए र टीटीएमार्फत् भित्र्याउने प्रतिबद्धता विदेशी लगानीकर्ताले जनाएका छन् ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा २१९ वटा उद्योग दर्ता हुँदा २९ अर्ब ७४ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ भने एसपीए, एसएसए र टीटीएमार्फत् १ अर्ब ५३ करोड १० लाख रुपैयाँ प्रतिबद्धता विदेशी लगानीकर्ताले जनाएको विभागको तथ्यांक छ ।

वैशाखसम्ममा विदेशी लगानीकर्ताले सबैभन्दा बढी साना उद्योग दर्ता गरेका छन् । विभागअनुसार वैशाखसम्ममा साना वर्गका उद्योगमा १९३ वटा, मध्यम २२ वटा र ठूला ४ वटा उद्योग दर्ता भएका छन् ।

सोही अवधिमा सेवा क्षेत्रमा ९९ वटा, पर्यटन क्षेत्रमा ७८ वटा, उत्पादन क्षेत्रमा २२ वटा, सूचना तथा प्रविधि क्षेत्रमा ११ वटा, पूर्वाधार क्षेत्रमा ८ वटा र कृषि क्षेत्रमा १ वटा उद्योग दर्ता भएका छन् ।

वैशाख महिनामा साढे १ अर्ब लगानी प्रतिबद्धता जनाउँदा १४ करोड ३२ लाख रुपैयाँ, ७८ हजार १३ अमेरिकी डलर, ६ लाख भारतीय रकम रोयाल्टीमार्फत् विदेश लैजान लगानीकर्ताले विभागमा प्रस्ताव पेस गरेका छन् ।

वैशाखसम्ममा भने २ अर्ब २५ करोड ३२ लाख नेपाली रुपैयाँ, १३ लाख २३ हजार अमेरिकी डलर, ३० करोड ६९ लाख भारतीय रुपैयाँ र ७ हजार यूरो रोयल्टीवापत विदेश लैजान विभागमा प्रस्ताव पेस भएको छ ।

त्यस्तै, वैशाखसम्ममा नाफासहित १३ अर्ब ७९ करोड ३१ लाख रुपैयाँ विदेश लैजान प्रस्ताव पेस भएको छ । वैशाखमा मात्र १ करोड ८६ लाख ८७ हजार रुपैयाँ नाफा लैजान प्रस्ताव पेस भएको विभागको तथ्यांक छ ।