भनिन्छ–संस्कृति, धर्म र रहनसहनले मानव समाजलाई अनुशासनमा बाँधेर राख्छ । तर, पछिल्लो समयमा चाडपर्व र सस्कृतिको नाममा विकृतिहरु फैलिइरहेका छन् । तिहार भनेपछि अनावश्यक जुवातास, कौडी, लङ्गुरबुर्जा र अन्य त्यस्तै परिवारको आर्थिक हिनामिना हुने खेलमा परिणत भइरहेको छ । रमाइलोका नाममा एक किसिमले नजानीकन हामीले गलत संस्कृतिलाई बढावा दिइरहेका छौँ ।
दशैँ, तिहार र छठमा पटाका पड्काएर, जुवा–तास खेलेर पर्वको मर्म विपरितका कार्य हुन्छन् । विशेषगरी तिहार र दीपावलीमा सहरी तथा ग्रामिण भेगमा जुवातास, कौडा खुलेआम खेलिन्छ । घरमा बालबच्चा र परिवारलाई दुई छाक खुवाउन धौ–धौ पर्नेहरु मोटो रकम ऋण काढीकाढी भनेपनि जुवामा हारेर कंगाल बन्नेहरु थुप्रै छन् हाम्रो समाजमा । दुःख गरीगरी पसिना बगाएर कमाएको पैसा जुवाको खालमा मिल्काउने यस्तो उनुत्पादक कार्य मनोरञ्जनको नाममा विकृति नै हो । कुनै मान्छे जुवातास खेलेर धनी बनेको आजसम्म कहिल्यै सुनिएको र देखिएको उदाहरण पनि छैन । कमाए पनि जुवा खेलेर कमाएको पैसामा जुवामा नै हारेर सकिन्छ । एक पटक कमाएपछि अझै बढी कमाउने लोभ जाग्छ । फलतः कमाएको पनि सबै गुम्न पुग्छ ।
प्रशासन र प्रहरी कार्यालय लगायत प्रशासनिक कार्यालय नजिक दर्जनौँ स्थानमा कौडा, तास खेलिन्छ, खेलाइनछ, हेरिन्छ र मनोरञ्जन लिइन्छ । दीपावलीको दिन त हाम्रा गाउँघरमा प्रायः घर अगाडी कौडा, जुवा खेलिन्छ । जाँडरक्सी सेवन र जुवातास खुलेआम खेल्नु खेलाउनु कानुनी दृष्टिले सामाजिक र वैधानिक छैन । यस्ता खेललाई समर्थन पनि गर्ने अवस्था छैन तर, अधिकांश यसैमा रमाउँछन् भने प्रशासन चार्डको अवसर भनेर मूकदर्शक बन्छ । समाजले यसलाई परम्परा निर्वाहको रुपमा लिन्छ । परम्परा निर्वाहकै सिलसिलामा कानुनविपरितका काम प्रशासन अगाडी हुनुले प्रशासन कमजोर भएको सावित त हुन्छ नै, काननुनको महतव पनि कमजोर हुन्छ । विधिको शासनमा पनि प्रश्नचिन्ह नलाग्ने देखिन्न । यसबाट रुढिवादी परम्परा संरक्षणको नाममा समाज अपराधउन्मुख भएको भन्न सकिन्छ ।
यस्तो छ जुवातासविरुद्धको कानुन
नेपालमा जुवातास सम्बन्धि एक मात्र रहेको कानुन जुवा ऐन, २०२० को दफा २ मा ‘सम्पति हार्ने वा जित्ने गरी कुनै संयोगका आधारमा वाजी थापी खेलेको कुनै खेल जुवा कहलिन्छ’ भनिएको छ भने दफा ३ अनुसार कुनै व्यक्तिले जुवा खेल्न–खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा भोगचलन वा जिम्माको कुनै घर, कोठा वा खेलाउने काममा व्यवहार गर्न वा गराउनु हुँदैन । जुवातास खेलेको ठाउँमा बस्नुसमेत हुँदैन । त्यस्ता कार्य गर्न कसैलाई कुनै किसिमको सहयोगसमेत गर्नु हुँदैहुँदैन ।
यस प्रावधानविपरित कार्य गरेमा दफा ४ मा सजाय समेत तोकिएको छ । जुवा खेलेमा पहिलोपटकका लागि एक महिनादेखि दुई कहिनासम्म कैद, तेस्रो पटकदेखि एक वर्ष कैद गर्ने कानुनी प्रावधान छ । कसैले आफ्नो घरका कोठामा जुवाको खाल थाप्न दिएमा पहिलोपटकका लागी तीन सय रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि तीन महिनादेखि नौ महिनासम्म कैद गर्ने प्रावधान कानुनले गरेको छ । जुवा खेल्न खेलाउन सरसापट दिएमा थैली भुस हुनुका साथै थैलीको डेढी जरिवाना हुने प्रावधान छ । दफा ५ अनुसार जुवा खेल्न प्रयोग गरिएका सबै सामान जफत गरिने प्रावधान छ ।
यसरी कानुनले जुवातासलाई हेर्न सम्मको अनुमति दिएको छैन । जुवातास खेल्न सरसापट पनि दिन पाइँदैन । तर, कार्यान्वयन पक्ष कमजोर हुँदा चाडपर्व तथा मनोरञ्जनका नाममा गरिने यस्ता अवैधानिक कार्यत्रहरुले प्रश्रेय पाइरहेका छन् ।



