
अर्पण पौडेल
वैश्विक नवप्रवर्तनका क्षेत्रहरुमा आक्रमक व्यावसायिक विस्तारले एक छुट्टै पहिचान बनाएको सिलिकल भ्याली बैंक १९८३ स्थापित भई पछिल्लो समय सम्ममा करिब ५० प्रतिशत उद्यम पुँजी वित्त-पोषित प्रविधि तथा जीवन विज्ञान सम्बन्धी कम्पनीहरुमा आफ्ना व्यावसायिक क्रियाकलापहरु केन्द्रित गर्दै अमेरिकाको १६ औं ठूलो बैंकको रुपमा समेत परिचय बनाई सकेको थियो ।
४० वर्षको अनवरत प्रयत्नपछि बनेको एउटा आशालाग्दो बैंक केहि हप्ता पहिला ४० घण्टामै आफ्ना निक्षेपकर्ताहरुमा विकसित भएको विश्वासको प्रतिकुलताका कारण संकटग्रस्त भई अस्तित्व समाप्तिको संघारमा पुग्यो ।
क्यालिफोर्नियाका प्रख्यात स्टार्टअप, प्रविधि कम्पनी र सेलिब्रेटीहरुले प्रयोग गर्ने भनिएको सिलिकन भ्याली संकटग्रस्त बनेपछि अमेरिकाको अर्थतन्त्र र शेयर बजारमा तिव्र दबाब सृजना भई अर्बौ डलरको नोक्सानी सृजना भएको छ भने त्यसपछि अमेरिकी बैंकहरुमा देखिएको क्रमिक वित्तीय संकटको त्रासदीले पछिल्लो समय विश्व अर्थतन्त्र तरंगित बनेको छ ।
२००८ मा लेम्यान ब्रदर्श बैंक बन्द भए पछि देखिएको सिलिकन भ्यालीको अहिलेको त्रासदिलाई ठूलो वित्तीय संकटको रुपमा विश्लेषक गर्दे उस्तै प्रतिकुलता फेरि दोहोरिन सक्ने अड्कलबाजीहरु समेत यदाकदा हुने गरेका छन् ।
आखिर कसरी सिलिकन भ्यालीमा यस्तो त्रासदी सृजना हुने अवश्था बन्यो त भनेर हेर्ने हो भने बैंकिङमा नियमित जसो हुने विभिन्न रणनीतिक क्रियाकलापहरुको उपयुक्त सन्तुलन कायम नहुनुनै प्रमुख कारक रुपमा अगाडि आउँछ ।
बैंकिङमा वित्तीय स्रोत संकलका लागि विभिन्न विकल्पहरु तथा निक्षेप योजनाहरु संचालन गर्दा व्याजदर लागत मात्रै बढ्ने नभई संचालनगत विभिन्न किसिमका लागत पनि नियमितरुपमा बढिरहेका हुन्छन् ।
यस्ता लागतहरुको भर्पाई बैंकिङबाट परिचालन हुने कर्जा तथा अन्य लगानीहरुबाट आर्जित हुने ब्याजदरमार्फत गर्ने प्रयत्न गरिन्छ । त्यसैले जबसम्म बजारबाट आपुर्ति भएको वित्तीय स्रोतको परिपक्क अवधि तथा मौज्दात अनुशारको कर्जा परिचालन तथा अन्य लगानी हुने अवस्था बजारमा उपलब्ध हुन्छ ।
तबसम्म बैंकहरुको सम्पत्ति तथा दायित्वहरुबीच उपयुक्त तालमेल कायम रहन्छ अन्यथा सन्तुलन भंग भई अधिक तरलता वा तरलता संकटको प्रतिकुलता सृजना हुन्छ ।
यस्तै परिस्थितीजन्य सम्पत्ति तथा दायित्वको असन्तुलनको भुमरीबाट सिलिकन तथा सिग्नेचर जस्ता बैंकहरु गुज्रिँदा पछिल्लो समयमा बैंकिङमा संकटका श्रृंखलाहरु सृजना भएको उपलब्ध तथ्यहरुले दर्शाउँछन् ।
सिलिकन भ्यालीको निक्षेप संकलन नया“ उद्यमहरुले बजारबाट उठाएको पुँजीमा आधारित हुँदा स्रोत संकलनमा अधिकेन्द्रिता जोखिम हावी हुँदै गएको देखिन्छ । कोरोनाकालमा वित्तीय स्रोत संकलनमा उल्लेख्य वृद्धि भई अधिक तरलताको स्थिति देखियता पनि कर्जाको मागमा आएको सिमान्त ह्रासले अधिक तरलताको प्रतिकुलता सम्बोधन हुन सकेन ।
जसको कारणले बजारमा उपलब्ध सुरक्षित अन्य लगानीका विकल्पहरुमा निवेश गर्ने रणनिती तयार गरी अमेरिकी सरकार र सरकार समर्थित निकायहरुद्धारा जारी गरिएका दिर्घकालिन ऋण उपकरणहरुमा उल्लेख्यरुपमा लगानी गरिएको देखिन्छ ।
यस्ता उपकरणहरु प्रायः नियमितरुपमा प्रतिफल प्रदान गरिरहने तथा परिपक्क अवधिमा मात्रै निदृष्ट मुल्य एकमुष्ठ भुक्तानी गर्ने प्रतिबद्धताबाट नियमन गरिएका हुन्छन् । यस्ता निवेशहरुबाट नियमितरुपमा प्राप्त हुने प्रतिफलदर जबसम्म बजारको व्याजदर भन्दा अधिक रहन्छ तब सम्म निवेशको बजार मुल्य अधिक रहन्छ भने बजार ब्याजदर अधिक रहँदा निवेशको बजारमुल्यमा गिरावट आउँछ ।
सिलिकन भ्यालीले निवेश गरेका उपकरणहरुको प्रतिफलदर जबसम्म बजारको ब्याजदर बराबर वा बढी थियो तब सम्म निवेशको बजार मूल्यमा अनुकुलता कायम रह्यो । दिर्घकालिन ऋण उपकरणहरुले सामान्यतयाः बैंक निक्षेप लगायत अन्य अल्पकालिन सम्पत्तिले भन्दा आर्कषक प्रतिफल दिने भएकाले यसबाट पनि बैंकले केहि समय राम्रै आम्दानी समेत गरेको देखिन्छ ।
कोरोनाकालमा बजारमा विभिन्नि कारणबाट प्रवाहित अधिक तरलता, युक्रेन युद्ध, अमेरिका र युरोपेली संघले रुसविरुद्ध लगाएको प्रतिबन्ध, अमेरिका र चीन बीचको बढ्दो तनाव आदि जस्ता अनेकन कारणले उत्पन्न बढदोे मुद्रास्फितीलाई निश्तेज गर्दै मूल्य स्थिरता कायम गर्ने प्रयत्नमा जब केन्द्रीय बैंकले ब्याजदर क्रमिकरुपमा बढाउने रणनीति लियो । त्यसपछि सिलिकन भ्यालीले दिर्घकालिन ऋण उपकरणमा बनाएकोे पोर्टफोलियोको बजार मुल्यमा गिरावट आई प्रतिकुलताका श्रृंखलाहरु शुरु भएको देखिन्छ ।
त्यसपछि केन्द्रीय बैंकले जति ब्याज बढाउछ त्यतिनै निबेशको बजारमुल्य खुम्चिदै गयो भने क्रिप्टोकरेन्सी उद्योगमा देखिएको मन्दीले त्यसमा गरिएको लगानी समेतमा प्रतिकुलता आई दोहोरो मारमा सिलिकन भ्याली परेको देखिन्छ ।
प्रचलित बासेलको पुँजीगत प्रर्याप्तताको नियमन अनुरुप विम्बित प्रतिकुलताहरु तुरुन्तै छताछुल्ल नभई केहि समय सिलिकन भ्यालीको नियमित गतिविधिहरु भित्र भित्रै विस्तारै विकराल बन्दै गएको देखिन्छ ।
उच्च गुणस्तरका दिर्घकालिन उपकरणहरुमा लगानी भएका कारणले जति बजारको ब्याज बढदै जान्छ त्यति निवेशको बजार मुल्यमा गिरावट आई सम्पक्ति भन्दा दायित्व अधिक हुँदा वासलातमा विम्बित क्रमिक अन्तरालको संकेत नै सिलिकन भ्याली संकटको शुत्रधार हो ।
प्रविधिमा आधारित ग्राहकहरुको बाहुल्यता रहेको हुनाले यो प्रतिकुलताको प्रसार यति छिटो भयो की सिलिकन भ्यालीले संकटमोचनका सम्भावित रणनैतिक योजनाहरु विकास गर्ने समय समेत पाएन । परिणामस्वरुप निक्षेपकर्ताहरुको बैंक प्रतिको आत्मविश्वासमा कमी आई आफ्नो निक्षेप फिर्ता माग्ने होडबाजी नै भयो ।
साना निक्षेपकर्ताहरुको मौज्दातको सुनिश्चितता फेडरल डिपोजिट इन्स्योरेन्स कर्पेरेशनका माध्ययमबाट हुने भएता पनि ठूला निक्षेपकर्ताहरुले आफनो निक्षेपलाई अरु बैंकहरुमा सार्नुको विकल्प नहुँदा अवस्था झन् भयाभह बन्यो ।
अन्त्यमा शेष रहेको अवमुल्यित सम्पत्तिको बिक्रिबाट माग भए बमोजिमको निक्षेप फिर्ता हुने अवस्था नरहँदा बैंक संकटग्रस्त भई आर्जित अस्तित्वनै समाप्त भएको देखिन्छ ।
संकटका श्रृङखलाहरुले अवश्य पनि आगामी दिनमा बैंक नियमन तथा संचालनका सवालमा निकै महत्वपुर्ण सन्देशहरु दिएको छ । जसमा राम्रा्े संगै चल्दा चन्दै पनि बैंकहरु डुब्न सक्ने सम्भावना, ब्याजदरको वरिपरि सम्पत्तिको मुल्यमा हुने गतिशिलाले ल्याउने जोखिम, पाश्चात्य जगतका सबै चिज अब्बल नहुने अन्तर्य, सम्पत्ति र दायित्वको ब्यवस्थापनको सम्वेदनसिलता, व्यावसायिक अधिकेन्द्रिता पोर्टफोलियोमा मात्रै नभई संचारको सवालमा पनि जोखिमयुक्त सक्ने प्रवृत्ति, वित्त पैसाको कारण र असर दुवै हुने नियती, शिघ्र समाधान नै वित्तीय संकटको अचुक अस्त्र हुने सत्य, नियमन तथा स्वनियमन नियमित भइ राख्नुपर्ने अनिवार्यता आदि जस्ता तत्थ्यहरु पर्दछन् ।
सिलिकन भ्यालीको प्रभाव नेपाली बैंकहरुमा प्रत्येक्ष रुपमा पर्ने भन्दा पनि बढेको कर्जाको ब्याजदरका कारण व्यावसायीहरु सडकमा उत्रिनु, कर्जा मिनाहाको माग गर्दै दिनदिनै प्रदर्शन हुनु, बैंकहरुको कर्जा असुली हुन नसकी खराबकर्जाको अनुपात बढ्नु निक्षेपको ब्याजदर बढ्दा समेत निक्षेप संकलनमा अपेक्षाकृतरुपमा बृद्धि नहुनु, कर्जा ब्याजदर उच्च हुँदा कर्जाको मागमा पनि सुस्तता छाउनु, आन्तरिक उत्पादन तथा निर्यात बढ्न नसक्नु, बजारमा बस्तु तथा सेवाको मागमा दवाव यथावतै रहनु, बैंकमा वित्तीय तरलता प्रर्याप्त नहुनु तथा सरकारको पुजीगत बजेट पनि खर्च नभई समग्र आर्थिक क्रियाकलापहरुमा संकुचन आई बजारमा रहेको व्यावसायीहरुको उधारो उठ्न नसक्नु तथा सर्वसाधारणको रोजगारीको स्तरमा समेतमा संकुचन देखिनु, पछिल्लो समयमा सहकारीहरुको संचालक र व्यवस्थापकीय कमजोरीका कारणले धेरै बचतकर्ताको निक्षेप जोखिममा पर्ने जस्ता अनेकन चरहरुको भूमरीबाट नेपाली बैैकिङ क्षेत्र निरन्तररुपमा प्रतिकुलतातर्फ उन्मुख रहेको देखिन्छ ।
त्यसैले यस्ता प्रतिकुलताहरुको चक्रिय प्रभावबाट बैंकिङलाई जोगाउन नियामक निकाय तथा स्वयम् र्बैंक तथा वित्तिय संस्थाहरु चनाखो हुनुपर्ने आजको अनिवार्य आवश्यकता बनेको छ ।
(उल्लेखित विचारहरु लेखकका निजी भएकाले आवद्ध संस्थाको प्रतिनिधित्व गदैनन्)



